Trending
हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज यहाँ जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै बाँकी तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
बागमती ,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना छ ।
त्यसैगरी आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ ।
गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कोशी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।