Trending
गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षीय यमबहादुर थापा पछिल्ला वर्षहरूमा किबीखेतीबाट उत्कृष्ट आम्दानी गर्न सफल भएका छन्। पहिले मकै र कोदो मात्र लगाउने थापाको बारी अहिले हरियो किबीबोटले भरिएको छ।
थापाले करिब ११ वर्षअघि व्यावसायिक रूपमा किबीखेती सुरु गरेका थिए। हाल उनले ८ रोपनी जग्गामा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी छ वटा जातका किबी खेती गर्दै आएका छन्।
“पहिलो वर्ष तार, पाइप र खम्बा बनाउन करिब आठ लाख खर्च भयो,” थापाले भने, “तर त्यो लगानीले आजसम्म काम गरिरहेको छ। किबी बहुवर्षीय बोट हो, एकपटक लगायो भने ५० वर्षसम्म फल्छ। त्यसैले म यसैमा रमाएको छु।”
थापाले गत वर्ष किबी र बिरुवाको बिक्रीबाट करिब ६ लाख रुपैयाँ आम्दानी गरेका थिए। उनले यस वर्ष झन् राम्रो उत्पादन हुने अपेक्षा व्यक्त गरेका छन्।
थापाका अनुसार किबी बोट लगाएको तीन वर्षपछि नै उत्पादन दिन थाल्छ, र अहिले उनका बारीमा १५० वटा बोट छन्। एउटै बोटबाट ५० किलोदेखि १ क्विन्टलसम्म किबी फल्ने गर्छ।
किबीलाई रोग कम लाग्ने र वर्षमा दुईपटक हाँगा काट्नेबाहेक विशेष झन्झट नभएको उनले बताए। “गोठेमल मात्र प्रयोग गर्छु, र उत्पादन हरेक वर्ष बढ्दो छ,” उनले भने।
थापाले उत्पादन गरेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म बिक्री हुने गर्छ। मूल्य रु २०० देखि ३०० प्रति किलो पर्छ। साथै उनले गत वर्षदेखि किबीको वाइन उत्पादन सुरु गरेका छन्, जसको बजारमा राम्रो माग देखिएको छ।
थापा अहिले किबीको नर्सरी व्यवसाय पनि सञ्चालन गर्दैछन्। उनको नर्सरीमा हाल ८ हजार बिरुवा छन्, जसको मूल्य रु १५० देखि २०० पर्छ।
सत्यवती गाउँपालिकाले भार्से गाउँलाई किबीको पकेट क्षेत्र घोषणा गर्दै किसानहरूलाई प्राविधिक सहयोग, तालिम, टनेल, नर्सरी र अनुदान उपलब्ध गराउँदै आएको छ। गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेका अनुसार पालिकाले किसानहरूलाई थप व्यावसायिक बनाउन निरन्तर सहयोग गर्दै आएको छ।
हाल भार्सेमा ५ वटा किबी समूह गठन भएका छन्, जसमा करिब ८० जना किसान आबद्ध छन्। ती किसानका घरमा १० देखि १५० बोटसम्म किबी रहेका छन्। अहिले गाउँमा ४० हेक्टर क्षेत्रफलमा किबीखेती भइरहेको छ।
गोल्डेन र रेड जातका किबी सबैभन्दा महँगा र स्वादिला मानिन्छन्। यी जातको मूल्य अन्य किबीभन्दा रु १०० बढी पर्छ। यस वर्ष गोल्डेन किबीले बजारमा विशेष माग पाएको छ।