Trending
बागलुङका धेरैजसो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन्। बसाइँसराइले गाउँमात्रै सुनसान भएका छैनन् धान, गहुँ र मकै फल्ने खेतीयोग्य जमिन पनि बाँझिने क्रम बढेको छ। कतै सिउँडी पलाएका छन्, त कतै बनमाराले ढाकिएका छन्। घर पनि रुग्ण बनेका छन्।
काठेखोला गाउँपालिका तथा जैमिनी र गलकोट नगरपालिकामा बसाइँसराइ गरे सहर बजार झर्नेको सङ्ख्या अत्यधिक छ। गाउँमा बूढापाका र बालबालिकामात्रै छन्। युवाशक्ति विदेश पलायन भइरहेको छ। यही कारणले बर्सेनि जमिन बाँझोमा परिणत हुँदैछ। यसले उत्पादनमा असर परेको छ।
बागलुङमा कुल एक लाख ७८ हजार ४०६ हेक्टर जमिन रहेको छ। त्यसमध्ये ४६ हजार १४८ हेक्टर जमिनमा खेती गर्न सकिन्छ। हाल ३० हजार ५०३ हेक्टर जमिनमा मात्रै खेती भइरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए।
कुल जमिनको २५ प्रतिशतमात्रै खेतीयोग्य जमिन रहेकामा अहिले १७ प्रतिशत जमिनमा मात्र खेती हुने गरेको छ।
बागलुङमा १५ हजार ६४५ हेक्टर जमिन बाँझो रहेको र आगामी वर्ष अझै घट्ने देखिएको अधिकारीले बताए। ‘जिल्लामा १४ हजार ६२५ हेक्टर जमिन बाँझो छ, एक हजार २० हेक्टर जमिनमा खती नगरी अन्य प्रयोगका लागि प्रयोग भएको छ’, उनले भने।
जैमिनी-४ की देवी शर्माले काम गर्ने व्यक्तिको अभावले आफ्नो ८० प्रतिशत बारी झाडीमा परिणत भएको बताइन्। पहिला २० मुरी धान, २२ मुरी मकै र कोदो उत्पादन गरेको सम्झिँदै उनले भनिन्, ‘पैसा दिएर पनि खनजोत गर्ने खेताला पाइन छाडे।’
काठेखोला-८ लेखानीका मेघराज कँडेलले पछिल्लो १० वर्षमा गाउँको आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको बताए। गाउँमा बूढाबूढी मात्रै रहेकाले काम गर्न नसक्दा खेतीयोग्य जमिन बाँझो बनेको उनको भनाइ छ। रासस