चारकोसे झाडीका रुपमा चिनिएको दक्षिणपूर्वी झापाको जलथल जङ्गलमा मिचाहा प्रजातिको झार फैलिएका कारण रैथाने प्रजातिका वनस्पति लोप हुँदै गएका छन् ।

जैविक विविधताले भरिपूर्ण जलथल जङ्गल नेपालकै होचो भूभाग रहेको कचनकबलदेखि हल्दिबारी र बाह्रदशी गरी तीन गाउँपालिका र भद्रपुर नगरपालिकासम्म करिब छ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

फरेन एक्सन नेपालका विज्ञ डा लीलानाथ शर्माका अनुसार जलथल जङ्गल नेपालको मात्र नभएर दुर्लभ वनस्पति, झार र बुट्यान रहेका कारण दक्षिण एसियाकै नमुना प्राकृतिक वन हो । यहाँ ४५० भन्दाबढी प्रजातिका वनस्पति छन् भने २०० भन्दाबढी प्रजातिका चराको बासस्थान छ । उनका अनुसार १४० भन्दा बढी प्रजातिका रुख भेटिएका छन् ।

“जनावरहरुमा सबैभन्दा ठूलो हात्तीदेखि सबैभन्दा सानो मुसे मृग जलथलमा अस्तित्वमा रहेको छ”, अनुसन्धातासमेत रहेका शर्मा भन्छन्, “रुख र चरा मात्र होइन, यहाँको सिमसारमा ४० भन्दाबढी प्रजातिका माछा पाइएका छन् ।”

बनस्पति प्रजातीय विविधता र समिश्रणका दृष्टिले जलथलको वन नेपालका अरु जङ्गलभन्दा पृथक रहेको उनको भनाइ छ । डा शर्माले एक दशकभन्दा बढी अनुसन्धान गरेर जलथल जङ्गलको जैविक विविधताबारेमा पुस्तक लेख्नुभएको छ भने अन्तरराष्ट्रिय जर्नलहरुमा उहाँका खोजमूलक लेख प्रकाशित छन् ।

नेपालमा हालसम्म अभिलेख नभएका छ प्रजातिका रुख यस जङ्गलमा भेटिएको जनाउँदै उहाँले पहाड र चुरे क्षेत्रमा मात्र पाइने ठानिएका वनस्पति तराईको जलथल वनमा पाइनु आश्चर्यजनक भएको बताए ।

लटहर प्रजातिका रुख यहाँ जङ्गल भन्न सकिने अवस्थामा भेटिएको छ भने थाकल, ढाल्ने कटुस, मुसुरे कटुस, मौवा र पाँचपातेजस्ता पहाडी रुख यहाँ प्राकृतिक रुपमै हुर्किएका छन् । हिमालयन पिनाङ्गा नामले चिनिएको सुपारी प्रजातिको वनस्पतिसमेत यहाँ पाइएको शर्माले बताए ।

दुर्लभ वनस्पति धेरैमात्रामा भेटिए पनि तिनको उचित संरक्षण हुन सकेको छैन । मानवीय अतिक्रमण र मिचाहा प्रजातिका झारहरुको प्रकोपले जैविक विविधता मासिँदै गएको छ । चोरी सिकारीको सक्रियताले जनावर लोप हुँदै गएका छन् ।

मृग र बँदेल सिकारीका कारण मासिँदै गएका छन् । अन्यत्र नपाइएको मुसे मृग केही वर्षयता देखिन छाडेको स्थानीयलाई उद्धृत गर्दै शर्माले बताउनुभयो । मुसाजस्तै सानो हुने भएकाले यसको नाम मुसे मृग रहेको हो ।

जलथलमा १७ प्रजातिका मिचाहा झारको प्रकोप देखापरेको छ । त्यसमध्ये स्थानीयले प्याङ्ग्री लहरा भन्ने गरेको माइकेनिया नामको मिचाहा झार सबैभन्दा ठूलो समस्याका रुपमा देखा परेको अनुसन्धाता शर्माले बताए । उल्टो काँडा भनिने अर्को प्रकारको मिचाहा झार पनि ठूलै समस्या बनेको छ ।

यी मिचाहा झारले सर्पगन्धा, कुरिलो, मधु, देउले च्याउलगायतका दुर्लभ वनस्पति लोप हुने खतरामा परेको उनले बताए । पोथ्रा प्रजातिका रुखसमेत मिचाहा झारले ढाकेर मास्ने गरेको छ । खाली रहेको ठाउँ यिनै वनमारा झारले ढाकिसकेको हुँदा यसको नियन्त्रणका लागि स्थानीय सामुदायिक वन र पालिकाले कार्यक्रम ल्याउन आवश्यक भइसकेको उनको धारणा छ । रासस

आइतवार, १२ अशोज, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान