पर्साका सखुवाप्रसौनी गाउँपालिका–२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेस प्रदेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारणले सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो । तर, पछिल्लो साता यहाँ परेको आकासेपानीका कारण उनले सबै खेतमा धान रोपिसके ।

“आकासे पानी पर्नुअघि नै साढे नौ विघामा जेनतेन रोपाइँ गरिसकेका थियौँ । तर, डेढ विघामा लगाएको चैते धान भित्राउन ढिला भएकाले रोपाइँ गर्न सकेका थिएनौँ”, उनले भने, “एक सातायता यहाँ दिनहुँजसो पानी परेसँगै बाँकी खेतमा पनि धान रोपेका छौँ ।” उनले ढिलै भए पनि अकासे पानी परेपछि यहाँका किसान उत्साही भएको बताए ।

“एक त चैतेधान भित्राउनै ढिलो भयो, अर्कोतर्फ नियमित बिजुली नआउँदा पनि बोरिङमार्फत पानी निकालेर रोप्न गाह्रो भयो”, उनले भने । मधेस प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादव मधेस प्रदेशमा अकासे पानी परेसँगै धान रोपाइँ धमाधम भइरहेको बताए ।

“यही साउन १६ गतेसम्म मधेस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये ५७.२७ प्रतिशतमा मात्रै धान रोपाइँ भएको थियो । पछिल्लो एक सातामा थप १९.२७ हेक्टरमा धान रोपाइँ भएको छ”, वरिष्ठ वागवानी अधिकृत यादवले भने ।

निर्देशनालयका अनुसार यही साउन २३ गतेसम्म मधेस प्रदेशमा आठ जिल्लामा धान रोपाइँ कूल ७६.५४ प्रतिशत अर्थात दुई लाख ८५ हजार २३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

सबैभन्दा धेरै बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहट जिल्लामा ८५.९ प्रतिशत धान रोपाइँ भएको छ । सर्लाहीमा पनि ७५ प्रतिशत, धनुषामा ७० प्रतिशत, महोत्तरीमा ६१.५ प्रतिशत, सप्तरीमा ७० प्रतिशत र सिरहामा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले अकासे पानी परेपछि पर्सामा धान रोपाइँ अन्तिम चरणमा पुगेको बताए । रासस

आइतवार, २५ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान