साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ ।

वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।

संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ ।

धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उनले भने ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मन पर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ ।

यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए। ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । ।

चामल, सावधान, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।

बिहिबार, १५ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !