निर्यात व्यापारमार्फत वदेशी मुद्रा आर्जनमा एक हिस्सा ओगटेको नेपाली अलैँचीले यतिबेला निकै उत्साह थपेको छ । पहाडी जिल्लाका किसानका लागि आम्दानीको मुख्य स्रोत बन्न थालेको अलैँचीलाई किसानले पछिल्लो समय निकै महत्व दिन थालेका छन् ।

प्रतिमन ९० देखि ९५ हजार रुपियाँमा कारोबार भइरहेको अलैँचीको अहिले बिरुवा लगाउने सिजन पनि हो । फल्न थालेको अलैँचीको गोडमेल गर्ने, बगान सरसफाइ गर्ने र फूल लागेका दानाको सुरक्षा गर्ने समय रहेको अलैँची किसान बताउँछन् ।

१० वर्षयताकै राम्रो मूल्य भएकाले यो साल किसानले अलैँचीमा उत्साह देखाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्याल बताउनुहुन्छ । “१० वर्षअघि प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको थियो । त्यसपछि २०७९ सालमा प्रतिमन ३२ हजार रुपियाँमा कारोबार भएको थियो,” अध्यक्ष पौड्यालले भन्नुभयो, “गत मङ्सिर, पुसतिर प्रतिमन एक लाख १० हजार रुपियाँसम्म किनबेच भयो, अहिले ९०–९५ हजार रुपियाँमा कारोबार भइरहेको छ । यो मूल्य त्यति कम होइन ।” पौड्यालका अनुसार इलामबाट मात्रै वार्षिक तीन अर्ब रुपियाँको अलैँची निकासी हुने गरेको छ ।

अलैँचीलाई कम लागतमा बढी मूल्य लिन सक्ने नगदेबालीका रूपमा लिन सकिने सन्दकपुर गाउँपालिका–२ का किसान गिरिराज खनाल बताउनुहुन्छ । ४५ रोपनी जमिनमा अलैँची लगाएका खनालले यस वर्ष गत वर्षभन्दा दोब्बर आम्दानी भएको बताउनुभयो । १० वर्ष वैदेशिक रोजगारी गरेर घर फर्किएपछि अलैँची खेती सुरु गरेका खनालले युवालाई स्वदेशमै स्वरोजगार गराउन अलैँची खेती एउटा माध्यम बन्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

“मैले बर्सैभर दैनिक दुई जनालाई रोजगारी दिएको छु, सिजनमा पाँच सय जनाले रोजगारी पाएका छन्,” उहाँले भन्नुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित सन्दकपुर–२ का वडाध्यक्षसमेत रहेका खनालले हरेक तीन वर्षमा नयाँ बिरुवा विस्तार गर्न भने ध्यान दिनुपर्ने बताउनुभयो । “एकातिर रोग लाग्छ र मर्न थाल्छ, अर्कातिर बिरुवा लगाउँदै जानु पर्छ । किसानले यो कुरामा ध्यान दिन सक्दा थोरै लगानीमा राम्रो आम्दानी लिन सकिन्छ,” उहाँले भन्नुभयो ।

त्यसो त खनाल इलामका अलैँची किसानमध्ये एक उदाहरण मात्रै हो । नेपाली किसानले देशका ५४ जिल्लामा अलैँची खेती गर्दै आएका छन् । देशको १४ हजार ३८३.५ हेक्टर जमिनमा अलैँची खेती विस्तार रहेको अलैँची विकास केन्द्रले जनाएको छ । विशेष गरी इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटालगायतका कोशी प्रदेशका पहाडी जिल्लामा अलैँची सबैभन्दा बढी उत्पादन हुने गरेको केन्द्र प्रमुख राजन परियार बताउनुहुन्छ । अलैँची खेती गर्ने किसानको यकिन सङ्ख्या भने नभएको परियारले बताउनुभयो ।

गत वर्ष निकासी भएको अलैँचीको हिस्सा पनि निर्यात वस्तुमध्ये राम्रो रहेको छ । मेची भन्सार कार्यालय झापाका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा सात अर्ब ६७ करोड ४० लाख ३६ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । गत वर्ष ४२ लाख ९४ हजार ५५० किलो अलैँची निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

मङ्लबार, १३ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान