स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत २७ वटा रिचार्ज पोखरी निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ देखि सुरु गरेको अभियानलाई कार्यान्वयन गर्दै जिल्लाका विभिन्न सामुदायिक वनमा २७ वटा रिचार्ज पोखरी निर्माण भएका हुन् ।

पछिल्ला चार आर्थिक वर्षमा जिल्लास्थित सामुदायिक वनमा पोखरी निर्माणलाई अभियानका रूपमा अगाडि बढाइएको जिल्लास्थित डिभिजन वन कार्यालयका वन अधिकृत अम्मरबहादुर पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८१/८२ मा तीन, आव २०८०/८१ मा १२, आव २०७९/८० मा आठ र आव २०७८/७९ मा चार वटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।

“एक सामुदायिक वन, एक पोखरी’ अभियान लागू भएसँगै हालसम्म २७ सामुदायिक वनमा २७ वटा पोखरी निर्माण गरेका छौँ”, पराजुलीले भन्नुभयो, “आगामी दिनमा पनि अन्य सामुदायिक वनमा यस्तै प्रकृतिका रिचार्ज पोखरी निर्माणलाई निरन्तरता दिँदै जानेछौँ ।”

पछिल्ला केही वर्षयता खोला खोल्सीमा पानीका मुहान सुक्दै गएकाले वनको बीच तथा माथिल्लो भागमा रिचार्ज पोखरी निर्माण गर्दा तल्लो तटीय क्षेत्रमा पानीका मूल फुट्ने, पानीको स्रोत बढ्ने भएकाले यसलाई अभियानका रूपमा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

वन जङ्गलमा वन्यजन्तुलाई पिउनका लागि पानी नहुँदा वन्यजन्तु पानीको खोजीमा जङ्गलबाट गाउँघरतिर आउनेक्रम बढ्दो रहेकाले वन्यजन्तुलाई गाउँतिर प्रवेश गर्न नदिनका लागि पनि यस प्रकारको रिचार्ज पोखरीले महत्त्व राख्ने उहाँको दाबी छ ।

“कतिपय ठाउँमा सडक निर्माण गर्ने कार्यले पानीका स्रोतहरू हराउँदै गएका छन्”, वन अधिकृत पराजुलीले भन्नुभयो, “माथिल्लो भागमा रिचार्ज पोखरी हुँदा तल्लो तटीय क्षेत्रमा पानीका स्रोत दिगो हुने, वन्यजन्तु तथा चरनका लागि लगिएका पशुचौपायालाई पानी खुवाउन सहज हुने र आवश्यक परेको खण्डमा सिँचाइका लागि पनि प्रयोग गर्न सकिन्छ ।” पोखरीको चारैतिर वा आवश्यकता अनुसार पक्की पर्खाल लगाइएको छ भने तल्लो जमिनलाई पुरानै अवस्थामा छोड्ने गरिएको उहाँको भनाइ छ ।

वनमा निर्माण गरिएका पोखरी बहुउपयोगी रहेका फेदीखोला गाउँपालिका– ४ स्थित कुचेको मुहान सामुदायिक वनका पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष उमाकान्त सुवेदीले बताउनुभयो । “वनमा निर्माण गरिएका पोखरीलाई उपभोक्ताले बहुउपयोगी तरिकाले प्रयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “रिचार्ज पोखरीभन्दा तल्लो भागमा पानीको मुहान जोगाइराख्न सहयोग पुग्ने, पशुचौपायालाई खुवाउन, सिँचाइका लागि प्रयोग गर्दै आएका छौँ । वन्यजन्तुले पनि यही पोखरीको पानी खान सक्नेगरी निर्माण गरेका हौँ ।”

पोखरी निर्माणसँगै वन क्षेत्र मनमोहक र सुन्दर देखिन थालेको सुवेदीले बताउनुभयो । डिभिजन वन कार्यालय स्याङ्जाले प्रतिपोखरी निर्माणका लागि रु एक लाख उपलब्ध गराएको थियो । रासस

शुक्रबार, ९ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !