मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन्। विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उनको दुई बिघा खेतका सुक्खा गरामा कमिला कुदिरहेका छन्।

“गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान रोपौँला भनेर पर्खेको धेरै भइसक्यो”, उनी भन्छन्, “ब्याडमा बीउ छिप्पिसक्यो। पानी परेको छैन। यो पाला धान रोप्न पाइन्छ जस्तो छैन।”

अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीको पीडा पनि उस्तै छ। विगत पाँच वर्षदेखि एक बिघा खेत वार्षिक ठेक्कामा लिएर धानखेती गर्दै आएका उनले असारमा खडेरी पर्दा किसानलाई ठूलो क्षति भएको बताए।

समयमा रोपाइँ गर्न नसक्दा जग्गाधनीलाई वार्षिक रूपमा ठेक्काबापत तिर्नुपर्ने रु ५० हजार कहाँबाट जुटाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउँछन्। झापाका अधिकांश खेतमा सिँचाइका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धानखेती गर्ने किसान अकासे पानीमा निर्भर छन्।

धान उत्पादनका लागि उर्वरभूमि मानिएको झापामा सिँचाइको अभावले पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख सागर विष्टले हालसम्म जिल्लामा २१ प्रतिशतमात्र रोपाइँ भएको बताए। उनले भने, “वर्षा नभएका कारण किसानले पर्याप्त रोपाइँ गर्न पाएका छैनन्। जति रोपाइँ भएको छ, ती सबै कुलो र भूमिगत सिँचाइबाट सम्भव भएको हो।”

कोशी प्रदेशमा जेठ १५ गते नै मनसुन भित्रिएको थियो। मनसुन भित्रिएलगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो। झापामा माईखोलाको बाढीले २२ घर डुबान भयो। त्यसपछि खेतमा रोपाइँ हुनेगरी वर्षा भएको छैन। झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ। त्यसमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धानखेती हुने गरेको विष्टले बताए। छिटो पाक्ने अगुवा धान असारभित्रै रोपिसक्नुपर्ने हुन्छ।

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायत सिँचाइ आयोजना सञ्चालनमा छन्। कचनकबल, कनकाई, कमल, गौरादह, मेचीनगर, बिर्तामोड, बाह्रदशीलगायत पालिकाका केही जग्गामा भूमिगत सिँचाइको व्यवस्था छ। बाँकी अधिकांश जग्गामा धानखेतीका लागि अकासे पानीको निर्भरता हटेको छैन।

शुक्रबार, २७ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !