चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हात पार्न थालेका छन्। चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका-१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ।

कक्षा ८ मा अध्यापन सुरू गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो। यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया बताउँछन्।

शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनको भनाइ छ। थपलियाका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए। त्यसमध्ये एक जनाले ए प्लस, सात जनाले ए र दुई जनाले बि प्लस ल्याएका छन्।

‘पहिलो वर्षमा नै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौँ। शिक्षक र विद्यार्थीको अथक मेहनतले यहाँसम्म आइपुगेका हौँ’, उनले भने।

चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको भन्दै प्रअ थपलियाले आवासीय सुविधासहित छात्रावास सञ्चालनले चेपाङ बालबालिकाको शिक्षामा सुधार देखिएको बताए।

राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय छन्। त्यसमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा स्कुलले कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले बताइन्।

बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको उनले बताइन्। कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रूपमा चिनिन्छ।

सवारीसाधन र बिजुली समेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रुपान्तरण हुँदै गइरहेको सीताबहादुर चेपाङ बताउँछन्। पछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको भन्दै हरेक अभिभावकमा आफ्ना छोराछोरी स्कुल पठाउनुपर्ने धारणा विकास भएको उनले बताए।

यहाँ पुग्न अझै पनि दुई/तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ। कक्षा ८ उत्तीर्णपछि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ। गरिबीका कारण यहाँका बालबालिकाले बीचमै पढाइ छाड्ने गर्छन्। पछिल्लो समय ८ कक्षा उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको छ।

यहाँ २०७२ साल अगाडि कक्षा ३ सम्ममात्रै अध्यापन हुने गरेको थियो। २०६७ मा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि विभिन्न सङ्घसंस्था र राज्यको ध्यान केन्द्रित हुन थाल्यो। लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेशनले चेपाङ समुदायको उत्थान र बालबालिकाको शिक्षाका लागि काम गर्न थाले।

स्कुलमा लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउण्डेशनले दुई शिक्षकको व्यवस्था गरिदिएपछि कक्षा ८ सम्मको पढाइ सम्भव भएको हो। त्यसभन्दा अघि यहाँका अधिकांश बालबालिकाले कक्षा ३ पढेपछि बीचमै पढाइ छाड्ने गरेको प्रअ थपलिया सुनाउँछन्।

विभिन्न दाताको सहयोगमा कक्षा ८ सम्मको पढाइ गरे पनि दरबन्दी अभावका कारण कक्षा सञ्चालन गर्न समस्या आएको उनको भनाइ छ। निमावि तहमा १० जना शिक्षकको दरबन्दी भएपनि अहिले ७ जनाको मात्र रहेको साथै शौचालय, पुस्तकालयको अभाव रहेको उनले गुनासो गरे।

पचास जना विद्यार्थी पनि नहुने यस विद्यालयमा अहिले १५० जना पढिरहेका छन्।

सोमवार, १२ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !