कञ्चनपुरको झलारी क्षेत्रमा विद्युतीय ई-रिक्साको स्टेयरिङ सम्हाल्दै आत्मनिर्भर बन्ने महिलाको संख्या बढ्दै गएको छ। शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महरा र नगरपालिका-११ दीपनगरकी २८ वर्षीया अनिता कुवँर यसका प्रेरक उदाहरण हुन्।

आर्थिक कठिनाइका कारण गाउँकै समूह र सहकारीबाट ऋण लिएर ई-रिक्सा खरिद गरेकी महराले हाल मासिक ३५ हजार रुपैयाँभन्दा बढी कमाउँदै आएकी छन्। सुरुमा पाँच महिनामा नै ऋण चुक्ता गर्न सफल महाराले आफ्नो कमाइबाट छोराछोरीको शिक्षादेखि घरखर्चसम्म चलाउँदै आएकी छन्।

कक्षा १२ सम्म अध्ययन गरेकी महाराले सुरुमा निजी विद्यालयमा शिक्षिकाका रूपमा काम गरेकी थिइन्। ‘त्यसबाट घर खर्च चलाउन धौधौ हुन थालेपछि केही महिना लघुवित्तमा र केही महिना बिमा अभिकर्ता बनेर काम गरेँ,’ उनले भनिन्, ‘दुवै क्षेत्रबाट पाइने तलबले चित्त बुझेन।’

झलारीलगायतका बजार क्षेत्रमा पुरुषले मात्रै अटो र ई-रिक्सा चलाउँथे। ‘पुरुषजस्तै मैले पनि ई-रिक्सा चलाउने निधो गरेँ। समूहमा पैसा बचत गर्दथेँ, त्यहाँबाट ऋण लिएर रिक्सा चलाउन सिकेँ,’ उनले भनिन्, ‘ई-रिक्सा खरिद गरेर चलाउन थालेपछि महिलाले पनि रिक्सा चलाउने भनेर कुरा काट्थे, चढ्न हिचकिचाउँथे, केहीले भने हौसला दिन्थे।’

दुई तीन महिना थोरै यात्रु चढे। त्यतिबेला उनलाई निकै तनाव भयो। यात्रुलाई सुरक्षित रूपमा तोकिएको रकम र गन्तव्यमा पुर्‍याउन थालेपछि यात्रुको सङ्ख्या बिस्तारै बढ्न थाल्यो। अहिले महिला पुरुष सबैजना चढ्ने गरेका छन्।

यात्रु कम भएका बेला दिनमा एक हजार रुपैयाँजति र बढी भएका बेला दुई हजार ५०० रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताइन्। उनका श्रीमानले पनि ऋण निकालेर अटो रिक्सा खरिद गरी चलाउन थालेका छन्। दुवै जनाले कमाइ गर्न थालेपछि परिवारको खर्च धान्न सहज भएको छ।

धनमतीजस्तै शुक्लाफाँटा नगरपालिका-११ दीपनगरकी २८ वर्षीया अनिता कुवँरले पनि दुई वर्षदेखि ई-रिक्सा चलाउँदै आएकी छन्। कक्षा १२ सम्म अध्ययन गरेकी कुवँरको आर्थिक अवस्था कमजोर थियो। साँझ बिहानको छाक टार्न धौधौ हुने गर्थ्यो। श्रीमानले ढुवानीका साधन चलाउँथे। त्यसबाट घर खर्च चलाउन सक्ने अवस्था थिएन।

‘घर परिवारकै सहमतिमा सहकारीबाट ऋण निकाल्ने निधो गरेँ,’ उनले भनिन्, ‘दुई लाख रुपैयाँ ऋण लिएर, त्यसैबाट ई-रिक्सा खरिद गरेँ, केही दिन सिक्नमै लाग्यो, सिकेपछि चलाउन थालेँ।’

ई-रिक्सा चलाउन थालेपछि सामान्य खर्चको अभाव नभएको उनले बताइन्। ‘ई-रिक्सा चलाउन थालेपछि पैसाका लागि श्रीमान्को भर पर्नु परेको छैन,’ उनले भनिन्, ‘कमाइ गरेर आएको रकम श्रीमान्लाई उल्टै खर्च दिने गरेकी छु।’

सहकारीमा दैनिक रकम बचत गर्न थालेकी उनले त्यस रकमबाट घर निर्माण गर्ने योजना बनाएकी छन्। उनी मासिक ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म कमाउँदै आएकी छन्। यी दुवै महिलालाई देखेर झलारी बजारमा अन्य महिला पनि ई-रिक्सा खरिद गरी चलाउन थालेका छन्।

पछिल्लो एक वर्षमा ई-रिक्सा प्रति महिलाको आकर्षण बढेको झलारी बजारका व्यवसायी ललितबहादुर हमालले बताए। उनका अनुसार झलारी बजारमा मात्रै छ जना बढी महिला ई-रिक्सा चलाएर जीविका चलाउँदै आएका छन्। रासस

मङ्लबार, ३० बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !