गौरीगङ्गा नगरपालिका–७ का सुवन चौधरी अहिले ‘प्लम्बिङ’ पेसामा आबद्ध छन् । उनले मासिक रु २५ हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । केही वर्षअघि गौरीगङ्गगा–७ स्थित सुनपाल सामुदायिक वनले आयोजना गरेको सीपमूलक तालिममा सहभागी भएर उनले यो सीप सिकेका थिए ।

सीप सिकेपछि धेरैले वैदेशिक रोजगारी रोजे । तर चौधरी भने यही गाउँमै बसेर काम गरिरहेका छन् । “सँगै तालिम लिने साथीहरू कोही तेस्रो मुलुक गए, कोही भारततिर लागे, म भने यतै बसेर काम गर्छु, खुसी पनि छु,” उनले भने । हाल उनले ड्राइभिङ तालिम पनि लिइरहेका छन् ।

चौधरीजस्तै गौरीगङ्गा–८ कि मनीषा विष्ट पनि दैनिक ब्युटिसियन तालिम लिन जान्छिन् ।

अहिले सुनपाल सामुदायिक वनले चौधरी र विष्ट जस्तै ९७ जनालाई सीपमूलक तालिम प्रदान गरिरहेको छ ।

वनले तीनमहिने ब्युटिसियन र ४५ दिने ड्राइभिङ तालिमसँगै तीनमहिने कम्प्युटर बेसिक तालिम, सिलाइकटाइ तालिम, टायल मार्बलिङ र प्लम्बिङ तालिम दिइरहेको सुनपाल सामुदायिक वनका अध्यक्ष रामबहादुर कामीले बताए ।

सुनपाल सामुदायिक वनमा गौरीगङ्गा–७ र ८ का उपभोक्ता छन् । समूहमा आबद्ध उपभोक्ता घरपरिवारमध्येबाट इच्छुक युवायुवतीलाई तालिम दिइरहेको अध्यक्ष कामीले बताए ।

वन ऐनअनुसार सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजनाबमोजिम आर्जन गरेको वार्षिक आयबाट कम्तीमा २५ प्रतिशत रकम वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गरी बाँकी रकमको कम्तीमा पचास प्रतिशत रकम सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गरिबि न्यूनीकरण, महिला सशक्तीकरण तथा उद्यम विकास कार्यमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ ।

सोहीअनुसार सीपमूलक तालिम दिन थालिएको अध्यक्ष कामीले बताए ।

अध्यक्ष कामीका अनुसार आर्थिक वर्ष २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सिलाइकटाइका लागि रु दुई लाख १० हजार, ड्राइभिङका लागि चार लाख, ब्युटिसियनका लागि रु एक लाख ७० हजार, कम्प्युटर बेसिकका लागि रु एक लाख २५ हजार, प्लम्बिङका लागि रु दुई लाख ५० हजार र टायल मार्बल फिटिङ तालिमका लागि रु दुई लाखगरी जम्मा १३ लाख ५५ हजार रकम छुट्याइएको छ ।

रोजगारका लागि जुनसुकै ठाउँमा गए पनि सहजै रोजगारी र राम्रो ज्याला पाउन भन्ने उद्देश्यका साथ तालिम दिइरहेको वनका अध्यक्ष कामीले बताए ।

उनले भने, “हामीले तालिमको आयोजना आफ्नै ठाउँमै रोजगारीको सम्भावना बढाउनका लागि पनि गरेका हौं। यदि विदेश जानुपर्ने भए पनि सीप सिकेर जान सकियोस् र काम खोज्न कठिनाइ नहोस् भन्ने सोचले यो तालिम सुरु गरेका हौं।”

तालिममा एकल महिला र विपन्न परिवारलाई प्राथमिकतामा राखिएको छ । तालिमसँगै सुनपालले परम्परागत पेसा व्यवसाय संरक्षणका लागि अनुदान दिने निर्णय पनि गरेको छ । अध्यक्षका अनुसार आरन व्यवसाय, बेत बाँस तथा चोयाबाट सामग्री बनाउने, थारू समुदायको डेलुवा, ढकिया, हेल्का, डिलिया बनाउने, दुना टपरी र हाते होजियारी व्यवसाय गर्नेहरूका लागि आवश्यक सामग्री खरिद अनुदान दिनेगरी आवेदन माग गरिएको छ ।

उपभोक्तालाई रोजगारउन्मुख गराउन प्रयास गरिरहेको सुनपालले गौरीगङ्गामा रहेको खप्तड बहुमुखी क्याम्पसलाई एक थान ल्यापटप र पाठ्यपुस्तक खरिदका लागि रु दुई २ लाख दिने निर्णय गरेको छ ।

आइतवार, २१ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो