Trending
प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । बैठक सञ्चालनका लागि सहज वातावरण बनाउन सभामुख घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन् ।
छलफलमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश वर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी छन्। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेर हितराज शाक्यलाई नियुक्त गरेका विषयमा जवाफ माग्दै प्रतिपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध पार्दै आएका छन् ।
त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने उनीहरूको माग छ । नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले सोमबार सदनमा जवाफ दिने भएका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री ओलीले सोमबार सदनमा जवाफ दिने गरी आइतबारदेखि सदन खुलाउन प्रमुख सचेतकसँग छलफल गरिरहेका हुन् ।
सरकारले ल्याएका अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने कानुन पारित गर्ने समयसीमाका कारण आइतबारदेखि नै संसद् बैठक सञ्चालनका लागि सरकारलाई दबाब छ । विपक्षी दलहरूले बैठक सञ्चालनमै अवरोध गरेपछि सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने कानुनहरू पारित गर्न सकेको छैन । आइतबार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको बैठक बोलाइएको छ ।