Trending
ह्याप्पी इनर्जी प्रा.लि.ले संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर २ र ३ मा अघि बढाएको ४० मेगावाट क्षमताको माथिल्लो संखुवाखोला जलविद्युत् आयोजनामा ६ सय १८ करोड ऋण लगानी जुटेको छ । आयोजनामा कृषि विकास बैंकको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी गर्ने भएका हुन् ।
कृषि विकास बैंकका प्रमुखकार्यकारी अधिकृत गोबिन्द गुरुङ प्रमुख अतिथि र विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालको विशेष अतिथ्यतामा वित्तिय व्यवस्थापन समारोह भएको थियो । आयोजना सम्पन्न गर्न ८ सय २४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कृषि विकास बैंकको पहिलो पटक प्रमुख अगुवाईको रुपमा वित्तिय व्यवस्थापन सम्पन्न भएको यस आयोजनामा ७५ प्रतिशत अर्थात् ६ सय १८ करोड ऋण र २५ प्रतिशत अर्थात् २ सय ६ करोड रुपैयाँ स्वपूँजी लगानी रहनेछ ।
कृषि विकास बैंक लिमिटेडको १ सय ५० करोड, सहअगुवा सिद्धार्थ बैंक लिमिटेडको १ सय ४५ करोड र सहभागीहरूः प्रभु बैंक लिमिटेडको १ सय करोड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेको ७५ करोड, लुम्बिनी विकास बैंक लिमिटेडको ७५ करोड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ७३ करोड रुपैयाँ बैंक कर्जा लगानी रहने बताइएको छ ।
संखुवाको पानी जनताको लगानी’ नारालाई आत्मसातगर्दै देश भित्र विशेषतः रुपन्देही, गुल्मी, पाल्पा, स्याङजा, पोखरा, चितवन, अर्घाखाँची, काठमाण्डौ, संखुवासभा र विदेशमा रुस, अमेरीका, क्यानडा, अष्ट्रेलिया, जापान, बेलायत तथा अन्य विभिन्न युरोपेली मुलुकहरूमा बसोबास गर्ने गैर आवासीय नेपाली नागरिकहरूको समेत सहभागिता रहेको कम्पनीका कार्यकारी अध्यक्ष इन्द्रबहादुर विष्टले बताउनुभयो । निकट भविष्यमा आइपिओ मार्फत सर्वसाधारणहरूलाई शेयरधनी बनाउने कम्पनीको योजना छ ।
विदेशमा रहेका गैरआवासीय नेपाली नागरिकहरू यस्तो प्रकारको आयोजनामा लगानी गर्न र देशको विकासमा जोडिन तत्पर रहेको ह्याप्पी इनर्जी प्रा.लि.का संचालक तथा गैर आवासिय नेपाली संघ (एनआरएन) का अध्यक्ष डा.बद्री केसीले बताउनुभयो । यो आयोजनाको पानीको मुहानको रुपमा हिमनदी र घना वनजंगल हुँदा नदीको बहाव भरपर्दो भई वार्षिक विद्युत् उत्पादन उच्च भएकोले आयोजना निर्माणको पहिलो वर्ष नै लक्षित आम्दानी र आकर्षक प्रतिफल प्राप्तहुने विश्वास गरिएको छ ।
आयोजनाको सम्पूर्ण संरचना सिलीचोङ गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्छ । समुन्द्री सतहबाट १ हजार ३ सय १८ मिटरदेखि १ हजार ८ सय ३४ मिटरको उचाइमा अवस्थित आयोजनाको पहिचान वि.सं. २०७४ सालमा भएको थियो । यो आयोजनाको काम २०८५ जेठभित्र सम्पन्न गर्ने तालिका छ । निर्धारित तालिकाभन्दा ४ महिना अगावै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको विष्टले जानकारी दिनुभयो ।
आयोजनाको मुख्य हेडवक्र्स संखुवाखोला र लुनसुनखोलाको संगमबाट करिब ७ सय ५० मिटर माथिल्लो तटमा अवस्थित छ । जहाँबाँध, ग्राभेल तथा बालुवा थिग्रयाउने पोखरी, सेटलिङ बेसिन, अन्डर स्लुइस, इन्टेक निर्माण हुनेछ ।
इन्टेकबाट पानीलाई ३ हजार सय ५० मिटर लामो हेडरेस टनेल, २ सय ५५ मिटर सर्फेस पेनस्टक, २ सय ५८ मिटर भर्टिकल र ३ सय ५५ मिटर होराइजेन्टल साफ्ट मार्फत विद्युत्गृहमा पुर्याइनेछ ।
यही विद्युतगृहमा जडान हुने २ वटा पेल्टन टर्वाइन घुमाएर उत्पादन हुन्छ ४० मेगावाट विद्युत छ । अहिले आयोजनाको पहुँचमार्ग र आवासगृह निर्माणको काम भइरहेको छ । जसमा विद्युतगृहदेखि हेडवक्ससम्म ६ किलोमिटर, विद्युतगृहदेखि अडिटसम्म ३ किलोमिटर र विद्युतगृहदेखि सर्जसाफ्टसम्म ३ किलोमिटर लामो पहुँचमार्ग निर्माणको काम भइरहेको छ । कम्पनीले निर्माण गरेको सडकबाट वडा नम्बर २ का बाला, खरिला, दाङखिला, बेतिनी, सिकीदिम, सोेङलाहलगायत क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने बताइएको छ ।