लहान नगरपालिका-२४ मलन्हाकी सुशीला सदायलाई ६ महिना अघिसम्म इनारको धमिलो पानी खानुपरेको तीतो अनुभव ताजै छ। हिउँदको समयमा थोरै रसाउने त्यही इनारको धमिलो पानी गाउँभरिका मानिसहरूले बाँडीचुँडी पिउनुपर्ने बाध्यता थियो।

त्यसमाथि बालबच्चा बिरामी परिरहने समस्या उनले अझै बिर्सन सकेका छैनन्। इनारकै पानी खाने, नुहाउने, लुगा धुनेलगायत काममा प्रयोग गर्नुपर्दथ्यो। करिब १७ घरपरिवारले प्रयोग गर्ने दलित बस्तीको सामूहिक इनार सडक छेउमै छ।

बैशाख-जेठको उखरमाउलो गर्मीमा रातभर जाग्राम बसि एक घैला पानी जोहोको लागि गरेको कष्टपूर्ण संघर्ष सुशीलाका लागि कहालीलाग्दा विगत थिए। तर गत बैशाखदेखि उनले नेपाल खानेपानी संस्थान लहान शाखाबाट धारा जडान गरेसँगै वर्षौँदेखिको खानेपानी समस्याबाट छुट्कारा पाएका छन्।

‘अब पानीको समस्या छैन। घरमा धारा जोडेदेखि जतिबेला मन लाग्यो त्यतिबेला सफा र स्वच्छ पानी प्रयोग गर्न पाएका छौँ। एकमुठ्ठी धमिलो पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ’, सुशीलाले भनिन्, ‘पहिलेजस्तो बालबच्चा बिरामी भएका छैनन्। पानी नै त रहेछ सबै कुराको मुख्य कारण। पहिले भोगियो, अहिले बल्ल बुझियो।’

उनले धाराबाट खेर जाने पानीबाट करेसाबारीमा तरकारी तथा फलफूलखेती गर्ने बताए। टोलका १७ दलित घरपरिवारले अहिले धारा जडान गरेको छन्।

त्यस्तै लहान नगरपालिका-४ सुन्दरपुरकी लिलमदेवी सदायसँग पनि सुशीलाको जस्तै पानी अभावले धेरै पीडा खेप्नुपरेको विगत थियो। तर अहिले उनले खानेपानीको धारा जोडेकी छिन्। पानीको अभावमा भाँडा माझ्न नजिकै रहेको बलान नदी जानुपर्ने बाध्यताबाट उनलाई मुक्ति मिलेको छ। आफ्नै घरमा धारा जडान भएदेखि उनी खुसी भएकी छिन्।

‘पहिलाको दुःख सम्झेर पानी खेर फालेको छैन। सधैँं यस्तै पानी आइरहोस्’, उनले भनिन्। लिलमदेवी र सुशीलादेवी जस्तै लहान नगरपालिकाका विषेशगरी गृहिणी खानेपानीको सुविधा भएपछि खुसी भएका छन्।

यसरी लहानका गाउँ र बस्तीमा सहजरुपमा खानेपानीको सेवा विस्तार हुनुमा नगरपालिका, खानेपानी संस्थान तथा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको छ। चुरेसँग जोडिएको यस नगरक्षेत्रमा भूमिगत पानीको स्रोतहरू सुक्दै जान थालेपछि यहाँका स्थानीय पछिल्लो समय खानेपानी अभावको दिगो समाधानको खोजीमा थिए।

ठीक त्यसैबेला गैरसरकारी संस्था ‘वाटर एड’ नेपालको सहयोग तथा लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान र नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सन् २०१८ देखि विकन परियोजना सञ्चालन भयो। केही वर्ष पहिलेसम्म सीमित व्यक्तिले फाट्टफुट्ट धारा जडान गरेको पाइन्थ्यो भने परियोजना सञ्चालनपछि धारा जोड्नेको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ।

स्थानीयमा जनचेतनाको अभावमा कुवाकै पानी खोने र त्यहीँ पानी वस्तुभाउलाई पनि खुवाउने प्रचलन व्याप्त रहेको बताउँछन् दलित जनकल्याण युवा क्लबका विकन परियोजना कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनी।

उनले भने, ‘त्यतिबेला मुख्य सहरी क्षेत्रमा मात्र धारा जोड्ने काम हुन्थ्यो। गाउँघरमा पैसा तिरेर धारा जोड्ने कल्पनासम्म पनि मानिस गर्दैन थिए। कुवा, इनार, चापाकलमै निर्भर थिए अधिकांश नागरिक।’ परियोजनापछि स्थानीय संघ संस्था तथा सरोकारवाला निकायको सक्रियतामा धारा जडान गर्ने सेवाग्राहीको सङ्ख्या बढदै गएको उनको भनाइ छ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय लहानका खानेपानी वितरण शाखा प्रमुख लट्टु यादवका अनुसार हालसम्म नगरक्षेत्रमा पाँच हजार तीन सय १९ धारा जडान भएका छन्। यसमध्ये एक हजार दुई सय २९ दलित परिवारले धारा जडान गरेका छन्। नगरका विभिन्न वडामा गरी हालसम्म एक सय १५ किलोमिटर खानेपानीको पाइपलाइन विस्तार भएको छ।

प्रमुख यादवका अनुसार विसं २०५६ सालदेखि सञ्चालित यहाँको खानेपानी संस्थानमा छ वर्षअघि सुरु भएको विकन परियोजना सञ्चालन हुनुभन्दा अगाडि करिब दुई हजारको सङ्ख्यामा मात्रै खानेपानीको धारा जडान भएको थियो।

उनका अनुसार लालपुर्जा भएका व्यक्तिलाई धारा जडानका लागि ६ हजार तीन सय ९० खर्च लाग्ने गरेको छ। जसमा ३ हजार धरौटी, तीन हजार दुई सय २० राजस्व, ४० खानेपानी कार्ड, निवेदन शुःल्क २० र पहिलो महिनाको न्यूनतम शुल्क एक सय २० लाग्ने गर्छ।

लालपूर्जा नभएको सुकुम्बासीलाई धरौटी, राजस्व र कार्ड गरेर १० हजार एक सय १० लाग्ने गर्छ। न्यूनतम एक सय २० मा सेवाग्राहीले १० हजार लिटर पानी प्राप्त गर्ने गरेका छन्। त्यसपछि प्रतियुनिट २५ रुपैयाँ लाग्छ। एक युनिटमा एक हजार लिटर पानी हुन्छ।

दलित समुदायलाई अनुदान

लहान नगरपालिकामा करिब २० हजार सुकुम्बासी दलित समुदायको जनसङ्ख्या रहेको तथ्यांक छ। उनीहरूसँग घरजग्गाको लालपुर्जा छैन। त्यसैले उनीहरूलाई नगरको र संस्थाको संयुक्त अनुदान उपलब्ध गराइएको छ।

धारा जडानका लागि नगरपालिकाले तीन हजार सात सय २० र परियोजनाले रु तीन हजार दुई सय ७०सहयोग गर्ने गरेको छ। त्यसकारण यहाँका दलित समुदायले धारा जडान शुल्क तीन हजार एक सय २० मात्र तिरे पुग्छ।

त्यसैगरि नगरपालिकाको वडा नं २, ७ र १४ का दलित समुदायमा धारा जडान गराउन त्यहाको वडा कार्यालयले सहयोग गरेको छ। वडा नं २ मा ६३ घर, वडा नं ७ मा २८ घर र वडा नं १४ मा ६३ दलित घरपरिवारले वडाको आर्थिक सहयोगमा निःशुल्क धारा जडान गरेका छन् । उनीहरूलाई परियोजनाले धारा सामग्री पनि सहयोग गरेका छ।

खानेपानीको क्षेत्र विस्तार

लहान नगरपालिकामा जम्मा २४ वटा वार्ड रहेका छन्। खानेपानी वितरण शाखा प्रमुख यादवका अनुसार विकन परियोजना सञ्चालन हुनुअघि करिब दुई दशकसम्म वडा नं १ देखि १० सम्ममात्रै खानेपानी संस्थानले काम गरिरहेको थियो।

अहिले वडा नं १३, १४, १६ र २४ मा खानेपानीको पाइपलाइन तथा धारा जडान विस्तार भएका छन्। उनका अनुसार धाराको माग भए बमोजिम २४ वटै वडामा खानेपानीको सेवा विस्तार हुनेछ। जसमध्ये वडा नं. २४ मा पछिल्लो सेवा विस्तार गरिएको हो।

वडा नं २४ किसान बाहुल्य रहेको वडा पनि हो। यहीँका किसानले उत्पादन गरेको तरकारीले नगरको करिब ७० प्रतिशत माग धानेको वडाअध्यक्ष राशलाल राय बताउँछन्। चुरेसँग जोडिएको यस वडामा पानीको सङ्कट गहिरिँदै जाँदा सञ्चालित उक्त परियोजना निकै नै प्रभावकारी भएको उनको भनाइ छ। उनले भने, ‘सायद विकन परियोजना नआएको भए यो सम्भव थिएन। अब वडामा कोही पनि नागरिक खानेपानीको अभावमा बस्नु परेको छैन।’

लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले खानेपानी संस्थानको सहकार्यमा सञ्चालित उक्त परियोजनाबाट यहाँका स्थानीयको समस्या समाधान भएको बताए।

परियोजनालाई खानेपानी मन्त्रालय र खानेपानी संस्थानले पनि सहयोग गरिरहेकाले यसै परियोजनामार्फत सन् २०३० सम्ममा लहानका सबै घरमा शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यसहित काम भइरहेको नगरप्रमुख चौधरीले जानकारी दिए। रासस

शुक्रबार, १६ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा