तनहुँको सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भद्रुडाँडा । चारैतिर वनजङ्गलले घरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दश परिवारको बसोबास छ । आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्याला मजदुरी गरेर छाक टार्दै आएका छन् । यो समस्या त छँदैछ, जङ्गल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव ।

स्थानीय हस्तबहादुर नेपालीले भने, ‘बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेका छौँ । करिब १५-२० मिनेट उकालीओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखिकै हो ।’ उनले चैत वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाए । ‘चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्ने हुँदा झनै कठिनाइ भोग्नु परेको छ’, उनले भने, ‘जङ्गलको बाटो हुँदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर छ ।’

यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ । व्यास–१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा मादीनदी लिफ्ट खानेपानी योजनाअन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो । बस्ती बसेको एकाउन्न वर्षपछि भद्रुडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन् ।

यहाँ ५० हजार लिटर क्षमताको ‘रिजर्भ’ टयाङ्की निर्माणका लागि ट्याङकीको बेस ढलान सम्पन्न गरी अन्य कार्य भइरहेका छन् । सोही योजनाअन्तर्गत यसअघि व्यास–१ अमिली भञ्ज्याङमा दुई लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण भइसकेको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

‘बस्ती विस्तारसँगै खानेपानीको समस्या हुने गरेकाले मादीनदी लिफ्ट योजना अघि बढाइएको हो’, उनले भने, ‘यो योजना सम्पन्न भएपछि वडावासीलाई सहज हुने विश्वास गरिएको छ ।’ श्रेष्ठका अनुसार विसं २०७९ भदौमा रु १९ करोडको लागतमा पराजुली कन्स्ट्रक्सनसँग सम्झौता भई काम अगाडि बढाइएको छ ।

विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण कार्यमा ढिलाइ हुँदा योजना सम्पन्न हुनसकेको छैन । संस्थाका अध्यक्ष चिजबहादुर दरैले आवश्यक सहजीकरणपछि पछिल्लो समय निर्माण कार्यले गति लिएकाले छिट्टै कार्यसम्पन्न हुने बताए । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुआत गरेकामा हाल संस्थाले सानाठूला गरी चारवटा योजनाबाट दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आइरहेको छ । रासस

शुक्रबार, ९ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा