Trending
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताएका छन् । स्याङ्जाको बिरुवा गाउँपालिकामा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उनले वर्तमान सरकार राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकको समृद्धिका लागि प्रयासरत रहेको उल्लेख गरे ।
पछिल्लो समय मुलुक सञ्चालनका क्रममा विभिन्न कारणले सरकारले स्थायित्व पाउन नसकेको स्मरण गर्दै अर्थमन्त्रीले राजनीतिक स्थायित्व, विकास र मुलुकको समृद्धिका लागि लामो इतिहास बोकेका दुई ठूला दलको आवश्यकता महसुस गरी सरकार गठन भएको बताए ।
‘अवसरवादसहित विविध कारण मुलुकमा ६÷६ महिनामा सरकार बदलियो, सरकारले स्थायित्व पाएन’, उनले भने, ‘मुलुकको परिवर्तनका लागि, नागरिको जीवनस्तर सुधार्न ठूला दल मिल्नुको विकल्प थिएन, देशलाई अस्थिरतामा राख्न हुन्न निकास दिनुपर्छ भन्ने लागेर कांग्रेस र एमालेको गठनबन्धनबाट वर्तमान सरकार बनेको हो ।’
मुलुकमा यसअघि विभिन्न कालखण्डमा आइपरेका कठिन अवस्थामा लामो इतिहास, अनुभव र योगदान गरेका दुई ठूला दलले नेतृत्व गरेका अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘मुलुकको स्थायित्व, विकास र नागरिकको पक्षमा वर्तमान सरकारले काम गरिरहेकाले सबैले यो सरकारलाई सहयोग र समन्वय गर्नुपर्छ ।’ आफ्नो जन्मभूमि स्याङ्जा भएको बताउँदै उनले यहाँको समग्र विकास, पूर्वाधार निर्माणका विषयमा रहेकाले क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
भवन उद्घाटन समारोहमा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधिसभाका सांसद राजु थापा, नेकपा (एमाले) का केन्द्रीय सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालगायतले जिल्लाको समग्र विकास, निर्माणका विषयमा धारणा व्यक्त गरेका थिए । बिरुवा गाउँपालिकाको प्रशासकीय भवन कूल सात करोड ९९ लाख ७० हजार एक सय ८१ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । विंस २०७७ असार ३१ गते सम्झौता भएर निर्माण थालिएको भवन २०८० मंसिर २९ गते निर्माण सम्पन्न भएको हो । प्रशासकीय भवन २९ कोठाको छ ।