Trending
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन्।
बुधवार काठमाडौँमा शुरु भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने उल्लेख गरे। उनले भ्रष्टाचार नियन्त्रण गर्ने कुरा स्टन्टबाजी नभएको बताए।
उनले आफ्नी श्रीमती (राधिका शाक्य) को नाममा स्वीजरल्याण्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाए।
प्रधानमन्त्री ओलीले भने‚ ‘भ्रष्टाचार नियन्त्रण गर्नैपर्छ। अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु। यस सरकारले म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भनेको छ। त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्नँ। भए नियन्त्रण गर्दछु। यो स्टन्टबाजी होइन। हुनत हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एकजना भनिरहेको रहेछ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यको नाममा स्वीजरल्याण्डको बैंकमा ४१ करोड डलर छ। सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो। मजा लाग्छ। यस्तो भन्नेहरू त धर्तीमा एकै खालका मान्छेहरू हुँदो रहेनछ क्या।’
प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा राखेर र इमान्दार भएर काम गर्ने बताए।