Trending
संखुवासभाको मकालु गाउँपालिकाका प्रख्यात आरोही एकै घरका चार दाजुभाईले इन्डोनेसियामा रहेको कार्टेन्स्जÞ पिरामिड हिमालको सफल आरोहण गरेका छन् । उनीहरुले आज दिउँसो १ बजेर ५० मिनट जाँदा उक्त हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् । कार्टेन्स्जÞ पिरामिड अष्ट्रेलिया र ओसिनियाको सबैभन्दा अग्लो हिमालमा पर्दछ । ७ महाद्वीपका ७ सर्वोच्च पर्वतहरू मध्ये यो सातौं शिखर हो । चार दाजुभाइहरु सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पा, कम्पनीका बोर्ड निर्देशक र एक्सपेडिशन व्यवस्थापक छाङ दावा शेर्पा, कम्पनीका व्यवस्थापक निर्देशक टासी लाक्पा शेर्पा र कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले उक्त हिमालको सफल आरोहण गरेर एकैसाथ चर्चा कमाएकाछन् । मिङ्मा शेर्पा र छाङ दावा शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल सफलतापूर्वक आरोहण गरिरीसकेका छन् । मिङ्मा शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु चढ्ने पहिलो दक्षिण एसियाली आरोही बनेर आफ्नो नाम लेखिसकेका छन् । छाङ दावा शेर्पाले पनि १४ वटा शिखरहरु चढ्ने पहिलो दाजुभाइहरूको रूपमा कीर्तिमान कायम गरिसकेका छन् । टासी लाक्पा शेर्पा, उनी बिना अक्सिजन (पूरक अक्सिजन) को प्रयोग नगरी सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छो आरोहीको कीर्तिमान कायम गरिसकेका छन् । कार्टेन्स्जÞ पिरामिडको सफल आरोहणसँगै उनले ७ समिट्स पूरा गरेका छन् र दक्षिण ध्रुवमा पनि पुग्न सफल भएका छन् । पासाङ फुर्बा शेर्पाले पनि ७ समिट्समा ४ वटा शिखरहरू चढिसकेका छन्, जसमा सगरमाथा, माउण्ट एल्ब्रस, किलिमाञ्जारो, र कार्टेन्स्जÞ पिरामिड छन् । आज एकै दिन चार दाजुभाई एउटै हिमालको चुचुरोमा पुगेर तस्वीर खिचाउन सफल भएकाछन् । जुन तस्विर, समाचार र कीर्तिमानले आज एकै दिन चर्चा पाएको छ ।