file photo

बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईँले बताए। आव २०७९/८० मा भन्दा २०८०/८१ मा बाख्रापालन गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको पाइएको छ ।

‘आव २०८०/८१ मा नयाँ १८ बाख्रा फार्म दर्ता भई सञ्चालनमा आएका छन् । अहिले जिल्लामा व्यावसायिक बाख्रा फार्मको सङ्ख्या दुई सय ७४ पुगेको छ’, उनले भने, ‘आव २०७९/८० मा दर्ता भएका बाख्रा फार्म दुई सय ५६ थियो ।’ फार्म नै दर्ता गरेर बाख्रापालन गर्नेको अनुपातमा व्यक्तिगत रूपमा खोर बनाएर बाख्रा पाल्ने सङ्ख्या अझ उल्लेख्य रहेको पाइएको छ ।

जिल्लामा आव २०७९/८० मा एक लाख ४३ हजार नौ सय ९० वटा बाख्रा रहेकामा गत आवमा सो सङ्ख्या २३ हजार सात सय ८९ ले थप भई एक लाख ६७ हजार सात सय ७९ पुगेको विज्ञ केन्द्रको तथ्याङ्कमा देखिएको छ ।

‘पछिल्लो तीन वर्षमा जिल्लामा ४५ हजार दुई सय २२ बाख्रा थप भएका छन्’, प्रमुख गुरागाईँले भने, ‘तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले यसतर्फ अग्रसर भएको देखिन्छ ।’

बाख्रापालन गर्ने किसानको सङ्ख्या बढेसँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ । आव २०७९/८० मा खसीबोकाको मासु पाँच सय ८१ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९५ मेट्रिक टनले वृद्धि भई छ सय ७६ मेट्रिक टन पुगेको प्रमुख गुरागाईँले बताए।

जिल्लामा उत्पादन भएको खसीबोका किसान आफैँले बिक्री गर्ने गरेका छन् भने केही सहकारीमार्फत सङ्कलन गरेर बिक्री गर्ने गरिएको छ । ‘गत आवमा यहाँ उत्पादन भएको खसीबोकामध्ये एक सय ६६ मेट्रिक टन सहकारीमार्फत सङ्कलन गरी बिक्री गरिएको छ भने पाँच सय ११ मेट्रिक टन किसान आफैँले बिक्री गरेका छन्’, उनले भने ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट गत आवमा एक सय ५० मेट्रिक टन खसीबोका काठमाडौँ, पोखरा र चितवनका बजारमा निकासा भएको तथ्याङ्कमा उल्लेख छ । पछिल्ला वर्षहरूमा पशुपालनका क्षेत्रमा गाईभैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि बाख्रापाल्नेको सङ्ख्या भने बढ्दै गएको छ ।

पशुपालनका क्षेत्रमा धेरै मेहनत र परिश्रम गर्नुपर्ने भएकाले त्यो क्षेत्रभन्दा कम मेहनत लाग्ने बाख्रापालनतर्फ किसानको आकर्षण बढेको देखिएको केन्द्रका प्रमुख गुरागाईँले बताए ।

मङ्लबार, २९ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा