file photo

स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्न थालेको छ ।

ढोरपाटन नगरपालिका–९ मसगाउँमा ६ युवा मिलेर एक वर्षदेखि स्याउखेती गर्न थालेका छन् । इटालीबाट ल्याएका स्याउका एक हजार तीन सय बिरुवा गत असारमा लगाइएको थियो । उक्त बिरुवामध्ये ७५ प्रतिशतले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका युवा उत्साहित भएका छन् ।

ढोरपाटन नगरपालिका–८ शेराबाङका ४० वर्षीय चिरनकुमार घर्ती २०६० सालमा रोजगारीका लागि कतार गए । सात वर्ष कतार बसेर फर्किएका उनलाई नेपालमै केही गर्ने सोच आएपछि २०६८ सालमा काठमाडौंमा कृषि फार्म खोले । घाटा व्यहोरेपछि घर्ती ढोरपाटन फर्किए ।

गाउँमा आएर कृषि पेसालाई निरन्तरता दिँदै आएका घर्तीलाई स्थानीय हुमलाल भुसालले साथ दिए । कृषिमा खाएको हन्डरले उनलाई विस्तारै सफल बनाउन थालेको छ । दुवैको सोच गाउँमै कृषिसम्बन्धी काम गर्ने भएकाले २०७६ सालमा ‘उत्तरगंगा अर्ग्यानिक एग्रो प्रालि’ दर्ता गरेर आलुको बजारीकरण गर्न थाले । उनीहरुले अन्य युवालाई पनि समेत समेट्दै गए । उनीहरुले गत वर्षदेखि आलुखेतीसँगै स्याउखेती पनि गर्न थालेका छन् ।

मसगाउँमा विभिन्न उन्नत जातका आलुको परीक्षण सफल भएपछि उत्साहित बनेका दुई युवाले थप चार युवालाई साथमा लिएर एक सय रोपनी जग्गामा उन्नत जातका स्याउ लगाउने निर्णय गरे । चिरन र हुमलालले रुद्र घर्ती, चकेन्द्र घर्ती, कमानसिंह बुढा र झिरमती घर्तीसँग मिलेर एक सय रोपनीमा स्याउ बगैँचा तयार गरेका छन् । उनीहरूले पहिलो चरणमा एक हजार तीन सय स्याउका बिरुवा लगाएकामा नौ सय बिरुवामा स्याउ फल्न थालेको छ ।

“एकदेखि दुई किलोका दरले स्याउ फल्न थालेको छ, इटालीबाट झिकाएका स्याउका बोट साना–साना हुन्छन्, पाँच वर्षपछि मात्रै प्रतिबोटमा २५ किलोसम्म स्याउ फल्छ”, चिरनकुमारले भने, “ढोरपाटनमा स्याउको अत्यन्तै सम्भावना छ, मसगाउँमा एक हजार स्याउका पुराना बोट छन् । तर उत्पादन कम छ, उन्नत जातको स्याउबाट छोटो समयमा धेरै लाभ लिन सकिन्छ ।”

एक सय रोपनी जग्गामा स्याउ बगैँचा तयार पार्ने तथा उन्नत जातको आलुको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्य रहेको घर्तीले जानकारी दिए । ६ जनामध्ये हुमलालबाहेक सबै विदेशमा दुःख पाएर फर्केका युवा भएकाले स्याउखेतीमा मेहनत गरिरहेका छन् ।

कृषि विकास निर्देशनालय पोखराले पनि उनीहरुलाई सहयोग गरिरहेको छ । इटालीबाट ल्याएको गाला, फुजी, गोल्डेन र रेड जातको स्याउका बिरुवा लगाइएको छ ।

चक्लाबन्दीअन्तर्गत स्याउ बगैँचा निर्माण गरेर तारबार गर्दा सुरुको लागत बढी भएको चिरनकुमारको भनाइ छ ।

युवा जनशक्तिको बढ्दो वैदेशिक पलायन तथा कृषि व्यवसायतर्फ युवाको आकर्षण कम हुँदै जाँदा ६ युवा मिलेर दुर्गम गाउँमा स्याउ र आलुखेतीको सम्भावना खोजिरहेका छन् ।

पहिलो चरणमा २५ लाख लगानी गरेको उनीहरू बताउँछन् । गण्डकी प्रदेश कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदान र कृषि ज्ञान केन्द्रबाट स्याउलाई थाक्रो र तारबारमा ५० प्रतिशत अनुदानमा प्राप्त भएको चिरनकुमारले बताए । रासस

 

शुक्रबार, २५ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान