प्युठानको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उनलाई भ्याइनभ्याइ छ ।

‘तीन बाली लगाउँदा अन्न वर्ष दिन पुग्ने र केही बीउ बिक्री हुने हुँदा एउटै खेतबाट आम्दानीको स्रोत थपिएको छ’, किसान घर्तीमगरले भने । परम्परागत धानको बीउलाई त्यागेर उन्नत जातको धान रोप्दा उत्पादन वृद्धि हुनुका साथै बीउको बिक्रीबाट आम्दानीमा बढेपछि चैतेधान लगाउन थालेको उनले बताए ।

घर्तीमगर जस्तै माण्डवी गाउँपालिका–५ का ९४ किसानले छ सय ५० रोपनीभन्दा बढीमा यस वर्ष चैतेधान लगाएका छन् । कतिपय किसानले भित्र्याइसकेका छन् भने कोही भित्र्याउने तयारीमा छन् । धान भित्र्याएका खेतमा बर्खेधान रोप्न बीउ तयार भइसकेको छ ।

जिल्लामा प्युठान नगरपालिकाको झिमरुक फाँट, ऐरावती गाउँपालिकाको गोठिवाङ, सरङबेँसी, डाबरा फाँट, माण्डवी गाउँपालिकाको रुद्रपुर फाँट, मल्लरानी गाउँपालिका छापेखोलाका फाँट र स्वर्गद्धारी नगरपालिका केही स्थानमा चैतेधान हुँदै आएको छ । धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानले चैते धानखेतीको प्रवर्द्धन गर्दै आएको छ । जसले गर्दा यसअघि चैतेधान लगाएका किसानले निरन्तर धानखेती गर्दै आएका छन् ।

चैते धान रोप्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान, कुलो निर्माणमा ८५ प्रतिशत, मलमा ५० प्रतिशत र विषादी र प्राविधिक सहयोगमा निःशुल्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उपलब्ध गराएको छ । किसानलाई जमिन बाँझो नराख्न प्रोत्साहन गरी उत्पादनमा जोड दिइएको परियोजना प्रमुख चुमान गिरीले बताए ।

गत वर्ष एक हजार तीन सय ५० रोपनीमा चैतेधान लगाइएको थियोभने यो वर्ष दुई हजार छ सय रोपनीमा खेती भएको छ । परियोजना प्रमुख गिरीका अनुसार जिल्लामा परम्परागत रूपमा धेरै फाँटमा चैतेधान रोपिए पनि पछिल्लो समय यो चार सय रोपनीमा सीमित थियो । प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये छ हजार पाँच सय ७५ हेक्टरमा धानखेती हुँदै आएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । गत वर्ष जिल्लामा २१ हजार नौ सय ६७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

बुधबार, १६ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे