Trending
दाङमा गैरकाष्ठ वन पैदावार उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष व्यापक परिमाणमा उत्पादनमा गिरावट आए पनि आर्थिक वर्ष २०८०/०८१ मा जडिबुटी उत्पादनसँगै निकासीमा वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ ।
डिभिजन वन कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा झण्डै ६ लाख किलो जडिबुटी उत्पादन भएको छ । गैरकाष्ठ वन पैदावार अर्थात् जडिबुटीजन्य वस्तु जिल्लाको राष्ट्रिय वन क्षेत्र र निजी वन क्षेत्रबाट पाँच लाख ९७ हजार ९३० किलो उत्पादन भएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।
गत आर्थिक वर्षमा एक लाख ६९ हजार ८०५ किलो टिमुर उत्पादन भएको छ । जसमा राष्ट्रिय वन क्षेत्रबाट २० हजार १३५ किलो टिमुर निकासी गर्दा दुई लाख एक हजार ३५० रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी, राष्ट्रिय वन क्षेत्रबाट ११ हजार ५०५ किलो र निजी वनबाट एक लाख ३९ हजार ६२० किलो मालागेडी उत्पादन भएको छ । जसमा राष्ट्रिय वन क्षेत्रबाट उत्पादन भएको ११ हजार ५०५ किलो मालागेडी निकासी गर्दा दुई लाख पाँच हजार रुपैयाँ राजस्व उठाएको छ ।
निजी वन क्षेत्रमा उत्पादित जडिबुटीबाहेक राष्ट्रिय वन क्षेत्रबाट कालादाना ६ हजार ४० किलो उत्पादन हुँदा ३१ हजार दुई सय, रिठा सात हजार ३५० किलो उत्पादन हुँदा २२ हजार ५० रुपैयाँ, तेजपात ६ हजार किलो उत्पादन हुँदा १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी दालचिनी एक हजार पाँच सय किलो उत्पादन हुँदा १५ हजार रुपैयाँ, चुत्रो एक हजार पाँच सय किलो उत्पादन हुँदा १५ हजार रुपैयाँ, दुधेलहरा तीन हजार किलो उत्पादन हुँदा ६ हजार रुपैयाँ, बेलफल एक हजार किलो उत्पादन हुँदा दुई हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी टटेलो बोक्रा दुई हजार किलो उत्पादन हुँदा १० हजार रुपैयाँ, धाईरो फूल एक हजार किलो उत्पादन हुँदा एक हजार रुपैयाँ, बर्रो दुई हजार किलो उत्पादन हुँदा चार हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी अमला दुई हजार किलो उत्पादन हुँदा चार हजार रुपैयाँ, भृगराज पाँच सय किलो उत्पादन हुँदा दुई हजार पाँच सय रुपैयाँ, घोडेपाप्रे १५ सय किलो उत्पादन हुँदा तीन हजार र पुननवर्न पाँच सय किलो उत्पादन हुँदा चार हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षमा निजी वन क्षेत्रबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको छ । टिमुर एक लाख ४९ हजार ६७० किलो, मालागेडी एक लाख ३९ हजार ६२० किलो, रिठा ८३ हजार ८७० किलो, तेजपात ४३ हजार ४५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३७० किलो उत्पादन भएको छ । यसैगरी, चुत्रो ९४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा एक हजार किलो र तिगेडी ६ हजार ४६० किलो उत्पादन भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा चार लाख ३८ हजार ९५२ किलो गैरकाष्ठ वन पैदावार अर्थात् जडिबुटीजन्य वस्तु उत्पादन भई निकासी भएकोमा आर्थिक वर्ष २०७९/०८० मा उत्पादन घटेर तीन लाख ६१ हजार ८२६ किलोमात्रै निकासी भएको थियो । जडिबुटी उत्पादनमा व्यापक गिरावट आएको बेला गत आर्थिक वर्षमा उत्पादनमा सुधार आएको छ ।
जिल्लामा रहेको राष्ट्रिय वन र निजी वन क्षेत्रमा उत्पादन हुने जडिबुटी अन्तर्गत राष्ट्रिय वन क्षेत्र र निजी वनमा उत्पादन हुने जडिबुटीमा अहिले सुधार देखिएको डिभिजन वन कार्यालय दाङको तथ्यांकले देखाएको छ । डिभिजन वनले टिमुरलगायत जडिबुटी खेतीको प्रवर्द्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि आर्थिक लगानी गरेको छ । तर अझै पनि यसले प्रतिफल अपेक्षाअनुसार आउन सकेको छैन ।
जसका कारण जडिबुटी उत्पादनसँगै निर्यातमा अपेक्षा गरिएको अनुसार उपलब्धि आउन सकेको छैन भने राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको छैन । आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख ३८ हजार राजस्व उठाएको डिभिजन वन कार्यालय दाङले बितेको आर्थिक वर्ष २०७९/०८० मा घटेर पाँच लाख ६१ हजार पाँच सय रुपैयाँमात्रै राजस्व उठाएको थियो । गत आर्थिक वर्ष २०८०/०८१ मा जडिबुटी संकलन इजाजतवापतको राजस्वमा केही सुधार गरेको छ । यो वर्ष पाँच लाख ७६ हजार रुपैयाँ राजस्व उठाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा २९ हजार ५५० किलो टिमुर उत्पादन भएकोमा बितेको आर्थिक वर्ष २०७९/०८० मा घटेर १३ हजार किलोमा झरेको थियो । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा दाङको राष्ट्रिय र निजी वनबाट दुई लाख ४१ हजार ७४२ किलो निर्यात भएको थियो तर बितेको आर्थिक वर्ष २०७९/०८० मा यसको उत्पादन घटेर ८५ हजार ९०६ किलोमात्रै टिमुर जिल्लाबाट उत्पादनसँगै निर्माण भएको थियो । टिमुर उत्पादनका लागि दाङ पकेट क्षेत्रका रूपमा लिने गरिएको छ ।
टमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बंगलाचुली गाउँपालिकासहित घोराही–१८, तुलसीपुर–१९, शान्तिनगरलगायत पहाडी क्षेत्रमा लामो समयदेखि टिमुरखेती हुँदै आएको छ । राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिमुरबाट राजस्व लिने गरेको छ । निजी वनबाट उत्पादन भएको टिमुरको राजस्व लिने नगरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जडिबुटीका बिरुवा रोपिएको डिभिजन वनले जनाएको छ ।