Trending
साउन महिना सुरु भएसँगै हरियो चुराको व्यापार बढेको छ । साउनमा हरियो वस्तु लगाउने धार्मिक परम्पराको कारण यस्ता वस्तुको व्यापार बढेको हो । हरियो चुरा र मेहन्दीको मूल्य पसल पिच्छे फरक रहेको उपभोक्ताहरूले बढाएका छन् ।
मूल्य बढे पनि चुरा पसलहरूमा सामान किन्ने महिला ग्राहकको चाप बढेको छ । १० रुपैयाँमा पाउने मेहन्दीको २० रुपैयाँ र २० रुपैयाँ दर्जनमा पाउने चुराको मूल्य एक सय रुपैयाँसम्म पुगेको छ । हिन्दु परम्पराअनुसार विवाहित महिलाले साउन महिना भरी नारीमा हरियो चुरा र हातमा मेहदी लगाएमा आफ्नो पतिको आयु लामो हुने विश्वास छ ।
यसैगरी अविवाहित युवतीहरूले हरियो चुरा र मेहन्दी लगाएमा राम्रो पति पाउने जनविश्वास रहेको छ । परम्परागत मूल्य र मान्यताकै कारण साउन महिनामा हरियो चुरा र मेहन्दी किन्नेहरूको संख्या बढ्दै गएको स्थानीय व्यापारीहरू बताउँछन् । साउन महिनालाई सौभाग्यको प्रतीकको रुपमा लिइन्छ । यसका लागि साउन महिनाभरी भगवान महादेवको व्रत बस्ने प्रचलन पौराणिक कालदेखि नै चलि आएको छ ।
महादेवलाई विशेष गरी हरियो, पहेलो रंग मन पर्ने भएकोले महादेवलाई खुसी पार्न यस्ता सामग्री पहिरनु परेको महिलाहरू बताउँछन् । भगवान महादेवलाई खुसी पार्न हरियो चुरा र मेहदी लगाउने गरिएको जनकपुर उपमहानगरपालिका १६ की महिला सुधा कर्णले बताइन् । सबैले हरियो चुरा लगाउन थालेपछि चुराको मूल्य अनावश्यक रुपमा बढेको छ । जनकपुरधाममा ठूला साना गरी करिब ५ सय चुरा व्यापारीहरू रहेका छन् ।
उनीहरूले दैनिक १० लाखभन्दा बढी चुरा र मेहन्दी बेच्ने गरेको जानकी चुरी सेन्टर जनकपुरका व्यापारी हेमन्त साह बताउँछन् । चुरासँगै हातमा मेहन्दी लगाउनेको संख्या समेत वृद्धि भएको छ । अधिकांश चुरा पसलले चुरासँगै मेहन्दी समेत बिक्री गर्ने गरेको स्थानीय कस्मेटिक व्यापारीहरू बताउँछन् । साउन महिना भरी प्रत्येक सोमबार महिलाहरूले नजिकैको शिवमन्दिर गाई पूजा गरी व्रत बस्ने चलन छ ।
पहिले हिन्दु महिलाहरूले मात्र व्रत बस्दै आएकोमा केही वर्ष यता यो व्रत सबै जनजातिका महिला धर्मावलम्बीहरूले बस्ने गरेका छन् । विश्वव्यापी रूपमा फैलिएको आर्थिक मन्दीको प्रभाव जनकपुरधाममा परेको भए पनि साउन महिना सुरु हुनु बित्तिकै हरियो चुरा र मेहन्दी व्यापारले आर्थिक गतिविधि चलायमान गर्न सहयोग पुर्याएको छ ।