Trending
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताएका छन । सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आज आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
उनले कतिपय आयोजनाहरु लामो समयसम्म सम्पन्न नभएको भन्दै कार्यान्वयन हुनेगरी आयोजनामा लगानी गर्नुपर्ने बताए । मन्त्रालयकी सचिव सरिता दवाडीले देशको आर्थिक विकासको मेरुदण्ड कृषि क्षेत्र भएकाले कृषिलाई अगाडि बढाउन सिँचाइलाई प्राथमिकता दिनुपर्ने बताइन । उनीले १५ लाख ५० हजार हेक्टर जमिनमा सिँचाइको पूर्वाधार विकास भएपनि १० लाख क्षेत्रफलमा पूर्वाधार विकास हुन बाँकी रहेको बताइन ।
सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले छ वटा राष्ट्रिय गौरवका आयोजनालाई सिँचाइ विभाग अगाडि बढाएको जानकारी दिए । उनले सिँचाइका योजनालाई समयमै सम्पन्न गर्न सके नेपालको सिँचाइ क्षेत्रले फड्को मार्ने उल्लेख गरे । विभागले ‘डिप ट्युबेल’मार्फत तीन लाख १८ हजार हेक्टर जमीनमा सिँचाइको व्यवस्था गरेको उहाँले जानकारी दिए । रासस