Trending
लमजुङका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको पाइएको छ । स्वास्थ्य कार्यालय लमजुङले गरेको शुद्धता परीक्षणका क्रममा जिल्लाका अधिकाँश क्षेत्रमा हाल पिउनका लागि प्रयोग भइरहेको खानेपानी दुषित रहेको पाइएको हो ।
स्वास्थ्य कार्यालय लमजुङले जिल्लाका विभिन्न स्थानिय तहमा रहेका ११५ खानेपानी आयोजनासहित अन्य स्रोतहरूमा नमुना परीक्षण गर्दा अधिकांश खानेपानी आयोजना प्रदुषित रहेको पाइएको हो । कार्यालयले विभिन्न आठ स्थानीय तहमा ११५ खानेपानी आयोजनासहित २२६ स्रोतको शुद्धता परीक्षण गर्दा १७४ अर्थात ७७ प्रतिशत स्रोतको पानी प्रदुषित भेटिएको हो ।
कार्यालयले चालु आर्थिक वषमै गरेको शुद्धिकरण परीक्षणको क्रममा बेसीसहरका सबै स्रोतमा पानी प्रदुषित रहेको पाइएको छ । कार्यालयले बेसीसहरका विभिन्न स्थानमा रहेका १८ वटा खानेपानी आयोजनामा २२ स्थानमा र आठवटा अन्य स्रोतको परीक्षण गरेको थियो । त्यसैगरी सुन्दरबजार नगरपालिका अन्तर्गत नौवटा खानेपानी आयोजनाको २३ स्थानमा शुद्धिकरण परीक्षण गर्दा १९ वटामा ईकोली भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सोबाहेक मध्यनेपालमा रहेका १० वटा खानेपानी आयोजनाको २० स्थान र अन्य पाँच स्थानमा परीक्षण गर्दा आयोजनाबाट वितरण भएका १३ ठाउँमा ईकोली भेटिएको थियो भने अन्य स्रोतमा खानेपानी पिउन योग्य भेटिएको कार्यालयले जनाएको छ । राइनासमा पनि आठवटा खानेपानी योजनाअन्तर्गत १३ स्थानमा परीक्षण गर्दा आठ स्थानको पानी पिउन अयोग्य भेटिएको छ ।
मस्र्याङ्दी गाउँपालिकामा भने २४ वटा खानेपानी आयोजनाको ४४ स्थानमा परीक्षण गर्दा २६ स्थानमा ईकोली भेटिएको थियो । त्यसैगरी दोर्दी गाउँपालिकाअन्तर्गत आठवटा खानेपानी आयोजनाको २० स्थानमा परीक्षण गर्दा नौवटामा ईकोली भेटिएको थियो । क्होलासोँथार गाउँपालिकामा पनि २७ वटा खानेपानी आयोजनाको ५२ स्थानमा परीक्षण गर्दा ४७ स्थानको पानीमा ईकोली भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको दूधपोखरी गाउँपालिकामा भने खानेपानी पिउनयोग्य भएको कार्यालयको प्रतिवेदनले देखाएको छ । दूधपोखरीमा ११ वटा खानेपानी आयोजनाको १५ स्थानमा खानेपानीको गुणस्तर परीक्षण भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ११५ खानेपानी आयोजनाको दुई सय ९ स्थानमा खानेपानी गुणस्तर परिक्षण गर्दा १५८ स्थान अर्थात् ७६ प्रतिशत पानीमा ईकोली भेटिएको थियो भने खानेपानीका लागि प्रयोग भएका अन्य १७ वटा स्रोतमा परीक्षण गर्दा १६ वटामा ईकोली भेटिएको थियो ।
स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा जिल्लाका विभिन्न स्थानमा रहेका खानेपानी नमुना परीक्षण गर्दा अधिकांश स्थानको खानेपानी पिउनका लागि अयोग्य भेटिएको कार्यालयले जनाएको छ । खानेपानीका मुहान तथा धाराको पानीमा दिसा पिसाबमा हुने ईकोली अर्थात् कोलिफम भेटिएकोले उमालेर मात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।