Trending
विशेष अदालतले पछिल्लो समय भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणसम्बन्धी द्रूत गतिमा मुद्दाको फर्छ्यौट गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवरसहितको टिमले यो आर्थिक वर्षमा ५०३ वटा मुद्दाको फर्छ्यौट गर्दै ६ महिनाभन्दा पुराना सबै मुद्दाको टुंगो लगाएको छ ।
कानुनतः विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा महिनाभित्रै टुंग्याउनुपर्ने व्यवस्था थियो । विगतमा लामो समयसम्म मुद्दा नटुंगिने प्रचलन अन्त्य भएको छ । ‘अब हामीसँग छ महिनाभन्दा पुराना कुनै मुद्दा छैनन्,’’ विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले भने ।
काठमाडौंको बबरमहलमा रहेको विशेष अदालतले जसरी मुद्दाको टुंगो लगाएको छ, त्यसैगरी कार्यालय पनि स्मार्ट बनाएको छ ।
जताजतै बिग्रेका गाडी, फोहोरको डंगुर, न सेवाग्राही बस्ने स्थान छ, न त पिउने पानी । क्यान्टिनको वरिपरि सबैतिर फोहोरै फोहोर । वरिपरि त थियो नै इजलास प्रवेश गर्ने गल्लीसमेत त्यस्तै । करिब ७ महिनाअघिसम्म काठमाडौंको बबरमहलमा रहेको विशेष अदालत परिसरमा देखिने दृष्य थियो, यो ।
तर यतिखेर तपाईं फरक देख्नुहुनेछ । विशेष अदालत प्रवेश गर्नासाथ जताजतै फूलैफूल, सफा, चिटिक्क । सेवाग्राही पिउने पानी, बस्ने बेञ्च लगायतका सुविधा । बाहिरी भागमात्रै होइन भित्रबाट हुने काम पनि त्यस्तै द्रूत गतिमा सम्पन्न भएका कारण ६ महिनाभन्दा पुराना सबै मुद्दाको टुंगो लगाइएको कुँवर बताउछन् ।
विशेष अदालतका अध्यक्ष कुँवरका अनुसार, मुद्दाको छिनोफानो पनि ‘फाष्ट ट्रयाक’मा भइरहेको छ । पुराना मुद्दा करिब–करिब सकिएका छन् । “अब केही समय इजलास नै नतोक्ने योजना बनाएका छौँ,” कुँवरले बाह्रखरीसँग भने, ‘‘अब फैसला लेखनलाई तीव्रता दिनेछौं ।’’
यस आर्थिक वर्षमा ५७५ मुद्दामध्ये ५०३ वटा फर्छ्यौट भइसकेका छन् ।
गैरकानुनी सम्पत्तिसम्बन्धी मुद्दा ३५, घुस रिसवत १०७, निर्णयगत अनियमितता ३०३, नक्कली प्रमाणपत्र २७, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा ३१ वटा फर्छ्यौट भएका छन् । अब विशेष अदालतमा ६ महिना नाघेका मुद्दा छैनन् ।
एक महिनामै २२ वटासम्म गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाको फर्छ्यौट भएका थिए ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा पुराना लगभग सबै टुंगिइसकेको कुँवर बताउँछन् । “हामीले फर्छ्यौट गरेका मुद्दामध्ये करिब साढे दुई सय फैसला लेखिसकेका छौँ,” कुँवरले भने, “अहिले विशेष अदालतमा भएको टिम एकवद्ध भएर काम गर्दा यस्तो परिणाम दिन सकिएको हो ।”
उनका अनुसार, सबै कर्मचारीहरु रातिसम्मै बसेर काम गर्ने गरेका कारण पनि यस्तो परिणाम दिन सकिएको हो ।
“ढिलो न्याय दिनु न्याय नदिनुसरह हो,” विशेष अदालतका अध्यक्ष कुँवरले भने, “हामीले रिजल्ट देखाउनेगरी काम गरेका छौँ । रिजल्ट देखाउने गरी काम गर्ने हो भने हामीले कार्यालय समयभन्दा बढी काम गर्नैपर्ने हुन्छ । त्यसमा हाम्रो सिंगो टिम लागेको छ ।”
उनले पछिल्लो समय कुनै पनि आरोपी व्यक्तिको क्षमताभन्दा बढी धरौटी राखिँदिदा अदालतप्रतिको विश्वास कम भएको पाइएपछि त्यसलाई आफूहरुले ध्यान दिएको बताउँछन् । उनी भन्छन्, “हामीले एक हजारसम्म पनि धरौटी माग गरेका छौँ ।”
संसारका जुनसुकै कुनाबाट पनि बहस र बयान गर्न मिल्ने व्यवस्था मिलाइएको हुँदा मुलुकका जुनसुकै क्षेत्रबाट पनि विशेषमा धाउनुनपर्ने उनले बताए । उनले पायक पर्ने अदालतबाट अनलाइन तारेखको व्यवस्था र कार्यान्वयन पनि भइरहेको जानकारी गराए ।
देश–विदेशबाट बयान, बकपत्र, थुनछेक बहस गर्न सकिने व्यवस्था पनि विदेश अदालतमै गरिएको छ । “मैले विदेशका अदालतमा देखेरै यहाँ कार्यान्वयनमा ल्याएको हुँ,” कुँवरले भने, “हाम्रा अदालत नागरिकमैत्री हुनैपर्छ ।”
पक्षहरुलाई एसएमएसबाटै मुद्दाको जानकारी गराउने, साक्षी र विशेषज्ञको श्रव्यदृष्य संवादबाट बकपत्र गराउन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए । छ महिनाभित्रै जस्तोसुकै मुद्दाको पनि फैसला गर्नुपर्छ भनेर लागेका कारण ६ महिनाभन्दा पुराना सबै मुद्दाको टुंगो लागेको बताए ।
“हामीले विदेशबाट पनि बयान दिन सकिने व्यवस्था गरेका छौँ,” उनले भने, “दुईवटा इजलासमा बसेर कन्फ्रेन्स रुममा प्रत्यक्ष हेर्न सकिने व्यवस्था पनि गरेका छौँ ।”
विशेष अदालतमा वाइडबडी खरिद प्रकरण, पूर्व सचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुरसहित १५ जना संलग्न मेलम्ची आयोजना, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, झापामा माओवादी नेता गगन पुरी संलग्न जग्गा प्रकरणलगायतका ठूला मुद्दा विचराधीन छन् ।