पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आएका छन्। नेपाली सेनाको जागीरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उनी व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आएका छन् ।

“उमेरमै जागीरबाट पेन्सन निस्किए, राम्रो देशमा आकर्षक तलबसहित रोजगारीका लागि साथीहरू गइरहेका थिए तर मलाई यही माटोमा पसिना बगाउन मन थियो अहिले केरा खेती गरिरहेको छु”, उनले भने, “विदेशमा १० घन्टा बगाउने पसिना यहाँ चार पाँच घन्टा मेहनत गर्ने हो भने कृषिबाट नै राम्रो मनग्य गर्न सकिने रहेछ ।”

दीर्घकालीन सोचसहित निर्मलले कावासोती नगरपालिका– १० रतौलमा १२ बिघा जमिन भाडामा लिएर व्यावसायिक केराखेती गरिरहेका छन। छिटो आम्दानी गर्न सकिने, अनुकूल हावा पानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले कावासोतीमा व्यावसायिक केराखेतीतर्फ आफू आकर्षित भएको उनले बताए।

“पहिलो वर्ष प्रतिगोटा रु ४० का दरले १७ हजार आठ सय ५० वटा बिरुवा ल्याएर केरा खेती सुरु गरेको हो”, उनले भने, “तीन वर्ष अगाडि रोपेका बिरुवाले अहिले उत्पादन दिन थालेका छन् ।” निर्मलले गरेको व्यावसायिक केराखेतीबाट दुई जनाले रोजगारीसमेत पाएका छन् । उनी आफैं पनि पूर्ण रूपमा काममा लाग्ने गरेका छन् भने अन्य दुई जनासहित आवश्यकताअनुसार दैनिक ज्यालामा कामदार राख्ने गर्नु भएको छ । अहिले केराखेतीबाट मेहनतअनुसारको आम्दानी हुन थाले पछि उनलाई सन्तुष्टि दिलाएको छ ।

“अहिले बारीमै भैरहवा, बुटवल र आसपासका व्यापारीले प्रतिगोटा रु सातका दरले काँचो केरा खरिद गरेर लाने गरेका छन्”, उनले भने, “प्रतिफल राम्रै पाएकाले अझै विस्तार गर्ने योजनामा रहेको छु ।” समयमा बीउ, मल नपाउनु, सिँचाइको अभाव, कामदार नपाउनुजस्ता समस्याले गर्दा केरा खेती गर्ने किसानले दुःख पाउने गरेको उनको अनुभव रहेको छ । पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको निर्मलले बताए।

“सिँचाइ, हावाहुरी र कीरा केराखेतीको मुख्य समस्या रहेछन्, रोग लागेन र हावाहुरीले क्षति पुगेन भने यसबाट राम्रो आम्दानी लिन सकिने रहेछ”, उनले भने। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा करिब पाँच सय ५१ हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

“कृषि ज्ञान केन्द्रमार्फत व्यावसायिक केराखेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदान दिँदै आएका छौं”, उनले भने, “किसानको खेतबारीमा गएर अनुगमन गरी समस्याका बारेमा सुझाव दिने गर्ने गरेका छौँ ।” पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिने क्रम बढ्दो छ ।

केही युवा स्वदेशमै स्वरोजगारसँगै आम्दानीको क्षेत्र पहिचान गर्न लागि परेका छन् । यसरी स्वदेशमै पसिना बगाउन चाहने युवालाई राज्यले उचित सहयोग गर्ने हो भने रोजगारीको समस्या नपर्ने किसानको भनाइ छ ।

सोमवार, ३१ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान