Trending
नेपाली जनप्रगतिशिल मञ्च माल्टाले महासचिव छेसाङ लोप्चन र सल्लाहकार डि.एस. राणा (निराजन सञ्जेल)लाई जिम्मेवारीबाट हटाएको छ । मञ्चको जुलाई ७, आइतबार बसेको सचिवालय बैठकले लोप्चन र राणालाई कार्यसमितिबाट हटाउने निर्णय गरेको हो ।
महासचिव लोप्चन संगठनलाई जानकारी नै नदिई माल्टा नफर्कने गरी स्पेन गएको र सल्लाहकार राणाले नेपालमा सार्वजनिक मुद्धा खेपिरहेको जानकारी आएकाले उहाँहरुलाई पदमुक्त गरिएको नेपाली जनप्रगतिशिल मञ्च माल्टाका अध्यक्ष कान्छाराम बुढाथोकीले जानकारी दिएका छन ।
यस्तै सचिवालय सुरज बहादुर अधिकारी लगातार ३ वटा बैठकमा अनुपस्थित भएका कारण उनलाई पनि सचिवालय सदस्यको जिम्मेवारीबाट हटाई साधारण सदस्य मात्र कायम गरिएको मञ्चले जनाएको छ । मञ्चको बैठकले ३ वटा बैठकमा लगातार अनुपस्थित हुने सचिवालय पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय समेत गरेको छ ।
मञ्चको बैठकले तत्काल कार्यसंचालनको लागि उपाध्यक्ष कृष्णप्रसाद सुवेदीलाई महासचिवको जिम्मेवारीमा सर्वसम्मतले चयन गरेको छ भने सचिवालय सदस्यहरुमा विशाल बुढाथोकी र मनिकुमार बुढाथोकीलाई नियुक्त गरेको छ ।
बैठकले महासचिव लोप्चन र सल्लाहकार राणाले नक्क्कली फेसबुक पेजमार्फत नेपाली जनप्रगतिशील मञ्च माल्टाका अध्यक्ष तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरू तथा व्यक्तित्वहरूलाई अनावश्यक टर्चर दिने गरेकोप्रति पनि मञ्चले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यस्तै महासचिव लोप्चनले संगठित सदस्यहरुको फाराम अहिलेसम्म संगठनलाई उपलब्ध नगराएको र संगठनलाई जानकारी नदिई संगठनको पेज, फेसबुक, हवाट्सअप, लेटरहेड प्रयोग गरिरहेको पाइएकाले उक्त कार्यलाई बन्द गर्नसमेत बैठकले आग्रह गरेको छ ।
जिम्मेवारीबाट हटाइएका महासचिव लोप्चन, सल्लाहकार राणा तथा सचिवालय सदस्य अधिकारीलाई आफ्नो गल्तिप्रति सच्चिन र संगठनप्रति केही गुनासो तथा असन्तुष्टि भए मञ्चमा लिखित जानकारी दिन आग्रह समेत गरिएको छ ।
यस्तै मञ्चको सचिवालय बैठकले माल्टामा कार्यरत अवस्थामै क्यान्सर जस्तो गम्भिर रोगसँग लडिरहेका सुरज लौडारीको उपचारार्थ १११ युरो सहयोग गर्ने निर्णयसमेत गरेको छ ।