Trending
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाउने तयारी गरेको छ ।
कामपाले आर्थिक २०८०/८१ मा २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट बढाएर ल्याउने तयारी गरेको कामपा राजस्व विभागले जनाएको छ ।
विभागका प्रमुख धुव्र काफ्लेका अनुसार विगत वर्षमा जस्तै आमामी आवमा पनि शिक्षा, स्वास्थ्य, सरसफाइ र सेवा प्रवाहको क्षेत्रमा बजेटले प्राथमिकता पाउनेछ ।
कामपाले आगामी आवका लागि गत जेठ ३२ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । कामपाले चालु आवको ११ महिनामा ८ अर्ब ५५ करोड ५ लाख ३२ हजार सात सय राजस्व संकलन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा कामपाले आठ अर्ब नौ करोड ३७ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । कामपाले चालु आवमा गत वर्षभन्दा ४५ करोड ६७ लाख ७० हजार रुपेयाँ बढी राजस्व संकलन गरेको काफ्लेले जानकारी दिए ।
प्रमुख काफ्लेका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
चालु आवको साउनदेखि वैशाखसम्ममा ३३ हजार १ सय ५६ नयाँ करदाता बढेको प्रमुख काफ्लेले जानकारी दिए । चालु आवदेखि कामपाले ३२ वटै वडाको प्रतिनिधिसहित स्थलगत अनुगमन गरिरहेकाले राजस्व संकलनमा सहज भएको बताइएको छ ।
कामपाले चालु आवको पुस मसान्तसम्म करदातालाई बक्यौतामा लाग्ने करमा र महिलाका नाममा दर्ता भएका उद्योगहरुलाई २५ देखि ४० प्रतिशतसम्म छुट दिएकाले करदाता बढेको जनाएको छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व संकलन गर्दै आएको छ ।