थोरै जग्गा भएका साना किसानलाई स्यालोट्युवबेलले राहत भएको छ। सिँचाइका अन्य कुनै साधन स्रोत जुटाउन नसक्ने किसानलाई थोरै लागतमा जडान हुने स्यालोट्युवबेलले राहत मिलेको हो।

महोत्तरीमा निम्न वर्गका किसानले सिँचाइ प्रयोजनका लागि स्यालोट्युवबेल जडानतर्फ चासो बढाएका छन्। लगातारको लामो खडेरी र असन्तुलित वर्षाका कारण खेतीपातीमा राम्रो साथ नपाएका यहाँका किसानले बालीनालीको सिँचाइका लागि थोरै लागतमा स्यालोट्युवबेल जडान हुने भएपछि यसबारे सकारात्मक चासो बढाएका हुन्।

स्यालोट्युवबेल जडानले बालीनाली लगाउने काममा सिँचाइ सहज हुँदै गएको किसान बताउँछन्।

स्यालोट्युवबेल जडानमा सरकारले ८५ प्रतिशत अनुदान दिने र कुल लागत एक लाख रूपैयाँ नबढ्ने भएपछि किसानलाई सिँचाइका लागि यो सजिलो भएको हो। स्यालोट्युवबेल प्रयोगमा केही पहिलेदेखि नै आए पनि महोत्तरीमा पछिल्ला दुई वर्षयता यसप्रति किसानको आकर्षण बढेको छ।

गत आर्थिक वर्ष २०७९/८० मा एक सय ७५ वटा स्यालोट्युवबेल जडान भएर सिँचाइ प्रयोजनमा उपयोग गरिएपछि त्यसको देखासिकीले यसको माग गर्ने किसान यसपालि चालु आव २०८०/८१ मा बढेका कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ। यसपालि जेठ १५ सम्म स्यालोट्युवबेल जडान गर्ने किसानको सङ्ख्या एक सय ८१ पुगेको कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मनिषकुमार पालले जानकारी दिए। चालु आवको अन्त्यसम्म यो सङ्ख्या दुई सय नाघ्ने कार्यालयले जनाएको छ।

पछिल्ला समय खडेरी पर्ने, अनुकूल वर्षा नहुने र जिल्लाका धेरै कम क्षेत्रमा स्थायी सिँचाइको कुलो पुगेको हुँदा किसान पानीकै अभावमा समयमा बालीनाली लगाउन नपाएर चिन्तामा पर्दै आएका छन्।

एउटा स्यालोट्युवबेलले दुई बिघा क्षेत्रफलमा सजिलै सिँचाइ दिनसक्ने भएपछि यहाँका किसानलाई यो वरदानसरह नै भएको कृषि अधिकृत पाल बताउँछन्। जिल्लामा कुल ७० हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा छ। यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्ने स्थायी सिँचाइ प्रबन्ध छ। यसबाहेक आकासे पानीका भरको खेती गर्नुपर्ने यहाँका किसानका लागि स्यालोट्युवबेल कम झण्झटिलो र खर्च पनि कम लाग्ने उत्तम विकल्प रहेको उनको भनाइ छ।

जिल्लाका सुदूरउत्तरी क्षेत्रका केही भागबाहेक जिल्लाका १५ वटै स्थानीय तहमा स्यालोट्युवबेल सफल बनेको छ। सुदूरउत्तरी गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका सुदूरउत्तरी केही बस्तीबाहेक स्यालोट्युवबेल जिल्लाभरिमै सिँचाइ प्रयोजनमा सफल भएको पालले बताए।

स्यालोट्युवबेल जडानमा कार्यालयले प्राविधिक सहयोगसहितको ८५ प्रतिशत अनुदान दिएपछि किसानको लागत १५ प्रतिशतममात्र चाहिन्छ। ठाउँठाउँको पानीको मूल (मुहान) भेटिने सतहको गहिराइका आधारमा लागत केही फरक परे पनि अहिलेसम्मको जडान लागत एक लाख रूपैयाँ ननाघेको कार्यालयले जनाएको छ।

यान्त्रिक उपकरणले पाइपलाई जमिनमुनिको पानीको सतहसम्म पुर्‍याएर पानी तान्न मिल्ने व्यवस्था मिलाइने यो कार्यक्रम कम लागतको प्रभावकारी रहेको कार्यालयका विज्ञ बताउँछन्।

जिल्लामा यसपालि स्यालोट्युवबेल जडानका लागि एक सय २५ फिट गहिराइसम्मको इष्टिमेट गरिएको छ। बिजुली पुगेका ठाउँमा मोटर लगाएर पानी तान्न कम लागत लाग्ने र बिजुली नपुगेको ठाउँमा पम्पसेट लगाउनु पर्दा यसको लागत थोरै बढ्ने गरेको पाल बताउँछन्।

किसानले स्यालोट्युवबेलले राहत दिए पनि खेतबारीसम्म विद्युत् सेवा पुर्‍याउन नसकिँदा र छिटोछरितो कृषि मिटर नपाइँदा सिँचाइमा लागत बढ्ने गुनासो गरेका छन्।

बालीनाली त खेतबारीमै लगाइने हुँदा स्यालोट्युवबेल जडान गरिने ठाउँसम्म विद्युत् लाइन विस्तार र कृषि मिटर जडानमा स्थानीय तह, विद्युत् प्राधिकरण र कृषिसम्बद्ध कार्यालयले समन्वय गरी सेवा प्रवाह सहज बनाइदिनुपर्ने भंगाहा-४ का किसान सत्यनारायण यादवको भनाइ छ। स्यालोट्युवबेल माग्न र यो स्वीकृत गराउन गर्नुपर्ने दौडधुपले भने दिक्क बनाउने गरेको किसान बताउँछन्। रासस

बुधबार, २३ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे