Trending
चितवनका सय घरधुरी चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कालिका नगरपालिका वडा नम्वर -१० स्थित बन्दीपुरेमा सोमबार सो क्षेत्रका सय परिवार चेपाङलाई खाद्यान्न चामल वितरण गरिएको हो ।
गामबेसी चेपाङ संरक्षण केन्द्रको समन्वयमा एसोसिएसन अन्नपूर्ण पोखराले वडा नम्बर-१० को पाइमाराङ, जिङलाओ, नान्दार, बाँसपानी, बन्दीपुरे टोल, चौकी डाँडा, छेरबाङ लगायतका ठाउँका चेपाङलाई खाद्यान्न सहयोग गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए । उनले गिठ्ठा र भ्याकुरको भरमा छाक टार्न बाध्य उनीहरुलाई दैनिक जीवन सहज बनाउने उद्देश्यसहित सहयोग गरिएको बताए । केही दिनअघि मात्र सो ठाउँका चेपाङ समुदाय गिठ्ठा र भ्याकुरको भरमा छाक टारिरहेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन भएपछि सहयोग आएको हो ।
‘पन्ध्र वर्षदेखि चेपाङको संरक्षणको क्षेत्रमा काम गरिरहेको छु,शर्माले भन्नुभयो,यो समयमा उनीहरूका लागि सबैभन्दा धेरै खाद्यान्नको समस्या हुन्छ ।’
एसोसिएसन अन्नपूर्ण पोखराका अध्यक्ष धनबहादुर अधिकारीले संस्था मार्फत जुटाएको सहयोग रकमबाट यहाँका विपन्न चेपाङ समुदायलाई खाद्यान्न उपलब्ध गराएको बताए । ‘हामी जुटाएको रकम सबैभन्दा समस्यमा रहेका नागरिकहरूलाई उपलब्ध गराउने गरेका छौँ,त्यसमा चेपाङ समुदाय सधैँ प्राथमिकतामा पर्ने गरेका छन्,उनले भने ।’ उनले वर्षको दुई पटक यहाँ चितवनका चेपाङ समुदायलाई सहयोग गर्ने गरेको बताए ।
कालिका नगरपालिका वडा नं–१०, सिद्धिस्थित बन्दिपुरे टोलका कुनाराम चेपाङ खाद्यान्न पाएपछि केही समयका लागि गिठ्ठा र भ्याकुर खोज्न जङ्गल जानुपर्ने बाध्यता हटेको बताउनुहुन्छ । यहाँका चेपाङ्ग ६ महिना अनिकाल र ६ महिना सहकालमा दैनिक जीवन जीउन बाध्य छन् । यसअघि आइतबार एसोसिएसन अन्नपूर्ण पोखराले इच्छाकामना गाउँपालिका वडा नम्बर ७ गर्दास स्थित राष्ट्रिय माध्यमिक विद्यालयका ३ सय ५० विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयोग गरेको थियो भने गामबेसीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न सहयोग गरेको थियो ।