Trending
अमेरिकाको कोलोराडोको सेन्टेनियल सिटीमा बौद्ध सभा समारोहको आयोजना गरी २६ सय ४८ औं बुद्ध जयन्ती भव्य रुपमा मनाइएको छ । गुरू लोप्पोन रिन्पोछेबाट बुद्ध पुजा र प्रवचनबाट कार्यक्रम शुरू गरिएको थियो । त्यसपछि गुरू रिम्पोछेबाट सामूहिक रूपमा समता ध्यानको अभ्यास गराइएको थियो ।
कार्यक्रममा नास डेलि यूट्यूबरले तयार गरेको बुद्ध जीवनी सम्बन्धी बनाइएको वृत्तचित्र प्रदर्शन गरीएको थियो । प्रायुश श्रेष्ठले फोटो तथा स्लाइड शो मार्फत् आफूले नेपालमा बिताएको श्रामणेर जीवनको अनुभव बॉंडेका थिए । त्यसै गरी जनकवि दुर्गा लाल श्रेष्ठको रचना, न्ह्यू बज्राचार्यको संगीत तथा आनी छोइङ डोल्माले गाएको चर्चित गीत “फूलको आँखामा फूलै संसार, कॉंडाको आँखामा कॉंडै संसार”लाई सरू लामाले गाएर मनोरञ्जन प्रदान गरेकी थिइन् ।
कोलोराडोमा रहेका रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगाले, संखुवासभा कम्युनिटी अफ यूएसएका अध्यक्ष शान्ति श्रेष्ठ, नेपाली घरका अध्यक्ष जगदीश चन्द्र ढकाल, तमु धिं कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङ, मगर समाज कोलोराडोका अध्यक्ष कृष्ण थापा मगर, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका केन्द्रिय सदस्य निमा शेर्पा, अन्र्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष कृष्ण मुरारी ढुंगेल, अन्र्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष ज्ञानेन्द्र गदाल, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोलोराडो च्याप्टरका सल्लाहकार दीपक सुनुवार, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष शारदा काफ्ले त्रिपाठी, गीतकार बिर्ख गुरुङ लगायत १ सय ५० को हाराहारीमा नेपाली तथा गैर नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।बौद्ध समाज कोलोराडोको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष तथा बुद्ध जयन्ती समारोहका सभापति श्याम कुमार श्रेष्ठले कार्यक्रमको अन्तमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम विनिशा श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।