Trending
लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका साहित्यकार दाजु गुरुङले ‘निरजोया’ नामक उपन्यास तथा आख्यान प्रकाशन गरेका छन् । जसमा नेपालीहरूको विदेशमा पछिल्लो बढ्दै गएको अवस्था र उनीहरूका सुख–दुःखलाई मनोवैज्ञानिक ढङ्गले प्रस्तुत गरीएको छ । संखुवासभा समाज हङकङ र हङकङ साहित्यिक साझा शृङ्खलाको संयुक्त आयोजनामा हङकङको जोर्डनस्थित ब्लुओसन रेस्टुरेन्टमा आज भब्य कार्यक्रमकाबीच ‘निरजोया’ लोकार्पण गरिएको हो ।
निरजोया’ मा नेपालीको अवस्था, अनुभव, त्यहाँको सामाजिक एवं सांस्कृतिक परिवेश, आदिको वरिपरि उपन्यास घुमेको छ । गर्नेले बिदेशमा पनि धेरै राम्रो आर्थिक अवस्था बनाएको पनि झल्को दिन्छ । त्यतिनै अन्य अवस्थाको पनि वर्णन गरीएको छ । ‘निरजोया’ उपन्यासका प्रमुख दुई पात्र हुन्। नेपाली पुरुष निरोज र मलेसियन महिला जोया ।
यी दुईको नामबाट ‘निरजोया’ जुरेको हो। कथा झन्डै दुई दशक अगाडिको हो। माओवादी द्वन्द्वकालमा ठूलो संख्यामा तटस्थ बस्ने नेपाली जमातको कथा हो यो । सरकारी सेना र विद्रोही सेनाको बल मिचाइबाट आफूलाई जोगाउन र व्याप्त बेरोजगारबाट बच्न तथा केही बाध्यता अनि केही रहरले धेरै नेपाली युवा मलेसिया पुगेर राम्रो काम पनि गरेकाछन् ।
मुस्लिमहरूको बाहुल्य रहेको मलेसियामा महिलाहरूको भूमिका, त्यहाँको धार्मिक एवं सामाजिक परिवेशको बयान पनि गरिएको छ। मलेसियामा महिलाहरू काम गर्ने र पुरुषहरू भने घरमै बस्ने । अल्छे हुने। पुरुषहरूलाई उपभोग्य सामग्री जस्ता व्यवहार गर्ने जस्ता अनौठो सामाजिक परिवेशको उपन्यासमा उल्लेख गरिएको छ। कथाअनुसार, विवाहित निरोजलाई पिताले द्वन्द्वबाट बाँच्न ६ महिनाको लागि मलेसिया पठाएका हुन्छन्। उपन्यासका लेखक दाजु गुरुङले पुस्तक लेख्न तीन महिना लागेको बताए ।
सुरुमा ‘भिजिट भिसा’ शीर्षकको कथा लेखेको थिएँ। तर, त्यसमा धेरै कुरा छुटे। अनि छुटेका कुरा थप्दै जाँदा उपन्यास नै पो तयार भो,’ उनले भने । प्रायः लेखकहरूले आफू वरिपरिको परिवेश, भूगोलअनुसार लेख्छन् वा भनौँ आफ्नै कथा लेख्छन् भनिन्छ। तर, यसको विपरीत दाजु गुरुङले भने हङकङमा बसेर मलेसियाको कथा लेखेका छन् । ‘निरजोया’ लोकार्पण कार्यक्रममा हङकङका सामाजिक संस्थाहरूका प्रतिनिधि, साहित्यकार, महावाणिज्यदूतावासका प्रतिनिधि लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
संखुवासभाको मादी नगरपालिका स्थायी घर भएका गुरुङ झन्डै डेढ दशकदेखि हङकङमा बसोबास गरिरहेका छन्। गुरुङले त्रिभुवन विश्वविद्यालयबाट स्तानकोत्तर गरेका छन् भने उनमा प्राध्यापनको अनुभव समेत छ। यसअघि उनले ‘टाँकीका फूलहरू’ र ‘लाई–सि’ कथा सङ्ग्रह प्रकाशन गरेका थिए। ‘निरजोया’ उनको तेस्रो कृति हो।