नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफीखेती गर्दै आएका छन् । व्यावसायिक रूपमा आफ्नै पाखापखेरामा करिब तीन सय कफीका बिरुवा लगाएका उनी राम्रो आम्दानी गर्न सफल भएका छन्। विगतको भन्दा यस वर्ष कफीखेती राम्रो रहेकाले यस वर्ष आम्दानी पनि बढ्ने अनुमान गरेको गुरुङले बताए ।

‘पहाडी क्षेत्रमा कफीखेती राम्रो हुन्छ भन्ने सुनेका थियौँ, पछि थोरै सङ्ख्यामा बिरुवा लगाएर विचार गर्दा राम्रो उत्पादन भएपछि अहिले यसैलाई व्यावसायिक रूप दिएका छौँ,’ उनले भने। जिल्लाकै हुप्सेकोट गाउँपालिकाका तुलीसरा राना मगरले पनि दुई सय कफीका बिरुवासहित कफीखेती गरेका छन् । पहाडी क्षेत्रको त्यो पनि चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट मनग्य आम्दानी समेत लिन सफल भएपछि आगामी वर्ष आफूले कफी खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

‘कफीखेती विस्तार हुने क्रम बढ्दो छ, यसको बजार राम्रो भएकाले अन्य छिमेकी पनि यसका बारेमा सोधखोज गर्न थालेका छन्’, उनले भने, ‘अहिले गरिरहेको क्षेत्रलाई विस्तार गरी काम गर्ने सोच बनाएका छौँ ।’ नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी भेगका गाउँमा कमला र तुलीसरा जस्तै कफीखेती गर्ने किसान बढ्दै गएका छन् ।

सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका छन् । यसको उत्पादनसमेत राम्रो हुँदै गएकाले कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएको किसान बताउँछन् ।

जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकामा अहिले किसान कफीखेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘जिल्लामा करिब पाँच सय किसानले ११ हेक्टरमा व्यावसायिक कफीखेती गर्दै आएको तथ्याङ्क छ’, उनले भने, ‘यहाँ प्रतिहेक्टर शून्य दशमलव आठ मेट्रिकटन कफी उत्पादन हुने गरेको छ ।’

कफीखेती प्रवर्द्धनका लागि सरकारले विभिन्न सहुलियतका कार्यक्रमसहित निर्यात प्रवर्द्धन गर्ने योजना अगाडि बढाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले बताए। राष्ट्रिय चिया तथा कफी विकास बोर्डकाले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको उपसचिव जोशीले सुझाव दिए।

‘स्थानीय तहसँग सहकार्य गर्दा नेपाली कफीको उत्पादन बढाउन सहज हुने देखिन्छ’, उनले भने, ‘पहाडी गाउँमा कफीखेतीतर्फ किसानको आकर्षण बढ्दो छ ।’

नेपालमा ४२ जिल्लामा करिब तीन हजार छ सय ५५ हेक्टरमा कफीखेती हुने गरेको छ । आर्थिक वर्ष २०७९-८० मा नेपालमा कफीको उत्पादन करिब तीन सय ९४ मेट्रिकटन रहेको सरकारी तथ्यांक रहेको छ । सोही आर्थिक वर्षमा नेपालले १३ करोड चार लाख ४१ हजार मूल्य बराबरको ७७ मेट्रिकटन कफी निर्यात गर्दा ३२ करोड ५८ लाख ६६ हजार मूल्य बराबरको चार सय ५० मेट्रिकटन कफी आयात गरेको थियो ।

मङ्लबार, २९ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान