Trending
नेपाल आरोहण खेल संघ (नेपाल स्पोर्ट्स क्लाइम्बिङ एसोसिएसन (एनसीएसए)) र अमेरिकाको न्युयोर्क राज्यमा दर्ता भएको अल्पाइन खेल संघले संयुक्त रूपमा विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबुछिरी शेर्पाको स्मृतिमा आरोहण खेल प्रतियोगिता २०२४ को आयोजना गर्ने भएको छ ।
प्रतियोगिता आयोजनाका लागि दुई संघबीच काठमाडौंमा एक कार्यक्रमकाबीच सम्झौता भएको छ ।सम्झौता पत्रमा एनसीएसएका महासचिव सन्तोस मादेन र अल्पाइन स्पोर्ट्सका अध्यक्ष नवाङ निमा शेर्पाले हस्ताक्षर गरे । लेजेण्ड्री क्लाइम्बर बाबु छिरि शेर्पाको सम्मानमा यो प्रतियोगिता हुन लागेको हो । आरोहण खेल प्रतियोगिता आगामी चैत २ र ३ गते बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हब प्रालीमा हुनेछ ।
उक्त खेल प्रतियोगिताको दुई संघहरु नेपाल आरोहण खेल संघ र अल्पाइन खेल संघ आयोजक र क्रिमपान्जी एड्भान्चर हव प्राली सहआयोजक रहने नेपाल आरोहण खेल संघका सचिव सुजित कंडेलले जानकारी दिए ।आरोहण खेललाई अन्तर्राष्ट्रियस्तरमा अगाडि बढाउने क्रममा बाबुछिरी शेर्पाको साहसिक र उत्कृष्ट भावनालाई स्मरण गराउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको हो ।
आरोहण खेल प्रतियोगितालाई व्यवस्थित गर्न दुई संघबीच आवश्यक सर्तसहित प्रतियोगितालाई अन्तराष्ट्रिय आरोहण खेल महासंघको नियम र पद्धति अनुसार गरीने विषयहरु सम्झौता पत्रमा रहको नेपाल आरोहण खेल संघका महासचिव सन्तोष मादेनले बताए । नेपालको पर्यटनसँगै खेलकुदलाई जोड्न विदेशी भूमीमा रहेर पनि सक्रिय रहेको अल्पाइन खेल संघका अध्यक्ष नवाङ निमा शेर्पाले विश्व प्रसिद्ध आरोहीहरुको स्मृतिमा खेल प्रतियोगिता आयोजना गरी खेल क्षेत्रवाट पनि सम्झन सकिने साथै आरोहीहरुको सम्मान हुने बताए ।