Trending
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् ।
उनीहरूले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ति जनाएका हुन् । केन्द्रीय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको थियो । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६ सय रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी सात सय रुपैयाँ, एक वर्ष सदस्यता बन्न एक हजार रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रीय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ ।
विद्यार्थी रामहरि लामिछानेले पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महँगो भएको बताए । लामिछानेले पुस्तकालयमा स्वतःस्फुर्त रूपमा विद्यार्थी जान पाउनुपर्ने भन्दै पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हितमा नभएको बताए । विद्यार्थी अध्ययनकै लागि पुस्तकालय जाने गरेको भन्दै कतै काम नगर्ने विद्यार्थी पनि रहेको भन्दै उनीहरूलाई शुल्क तोक्दा अप्ठ्यारो भएको बताए । उनले पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै २४सैँ घण्टा सञ्चालन गरेर पुस्तकालयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने बताए । अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको गुनासो गरे । उनले पुस्तकालयले बसेर अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रूपमा विपन्न विद्यार्थी मर्कामा परेको बताए ।
रिजालले कतिपय विद्यार्थीहरू कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगुलगायतका विकट जिल्लाहरूबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने बताए । उनले आफू पनि त्रिविमा अध्ययनरत विद्यार्थी भएको भन्दै पुस्तकालयले शुल्क लिँदा नरमाइलो लागेको बताए । उनले पुस्तकालयमा अध्ययनका क्रममा विद्यार्थीहरूबीच द्वन्द्व, विवाद नियमन गर्न शुल्क तोके पनि आर्थिक रूपमा विपन्न भएका विद्यार्थीका लागि पुस्तकालयले निर्णय सच्याउनुपर्ने बताए ।
अर्का विद्यार्थी अशोक कार्कीले अन्य विकल्प नभएपछि शुल्क तिरेरै अध्ययन गर्न बाध्य भएको बताए । उनले शुल्क निर्धारण मापदण्ड वैज्ञानिक नभएको भन्दै शुल्क लिनु आपत्तिजनक रहेको बताए । कार्कीले आफू पुस्तकालयमा आउने नियमित विद्यार्थी भएको भन्दै शुल्क तोक्दा अहिले विद्यार्थी संख्या घटेको बताए । उनले जागिर खाइसकेका, लोकसेवालगायतको परीक्षा दिन मात्रै एक महिना(डेढ महिना आउने गरेका विद्यार्थीले ६ महिनाको शुल्क तिर्नु वैज्ञानिक नभएको बताए ।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरूले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताए । उनले झोला राखेर विद्यार्थीहरू बाहिर जाने र केन्द्रीय क्याम्पसका विद्यार्थीले पढ्न नपाउने स्थिति भएपछि विश्वविद्यालयले नियमन गरेको बताए ।
केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको बताए । उनले विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको जानकारी दिए । उनले विश्वविद्यालय बाहिरबाट आउने व्यक्तिको सदस्यता कार्ड नहुँदा उनीहरूलाई नियमन र पहिचान गर्न सदस्यता कार्ड बनाइएको बताए । उनले पुस्तकालयमा विद्यार्थीबीच द्वन्द्व र झैँझगडा नै हुन थालेपछि शुल्क निर्धारण गरिएको बताए ।
पुस्तकालयमा दैनिक सात सयदेखि एक हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् । त्रिवि केन्द्रीय पुस्तकालयभित्र लामो समयसम्म बसेर अध्ययन गर्न खोज्ने विद्यार्थीको हकमा अनिवार्य रूपमा सदस्य हुने व्यवस्था गरिएको हो ।