गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्यसहित रेग्मी उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेका हुन् । औपचारिकरुपमा उम्मेदवारी घोषणा गरिसकेका नभएपनि उनले अनौपचारिकरुपमा आफ्नो उम्मेदवारी पक्का रहने भन्दै विभिन्न देशका एनसीसीहरुमा पुगेर उपाध्यक्ष पदका लागि अपील गरिरहेका छन् ।
एनआरएनएमा मध्यपूर्व युवा संयोजक हुँदै आइसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मीले एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिदै आगामी कार्यकाल २०२३/२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिने निचोडमा पुगेका हुन् । पछिल्लो समय देश/विदेश दौडाहामा हिडेका रेग्मीले आगामी कार्यकाल उपाध्यक्ष हुँदै एनआरएनएको नेतृत्व सम्हाल्ने रेसमा निरन्तर लाग्ने संकेत दिएका छन् ।
एनआरएन अभियानमा उदयीमान तथा उर्जाशिल रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन् । संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाई छ ।
रेग्मीले भनेका छन् –‘सन् २०२३/२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु । रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी कसैसँग नबिझाउने व्यक्तिका रुपमा चिनिन्छन् । एनआरएन अभियानमा उनको उपस्थितिलाई विश्वभरका नेपालीले अन्र्तआत्मादेखि स्वागत गरेका छन् ।
विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर ‘ग्लोवल एनआरएन सिंगिङ आइडल’को आयोजना गरिरहेका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
विश्वभर रहेका नेपालीहरुसँग अपील गर्दै रेग्मीले भनेका छन् –‘आजको दिनसम्म आइपुग्दा यहाँहरुको माया, साथ, सुभेच्क्षा र समर्थनले जुन सफलता हासिल गरे त्यसलाई निरन्तरता दिदै भोलिका दिनमा आईसीसी उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गर्दछु ।’
सामुहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता उनका रहेका छन् । रेग्मीले केही दिनमा औपचारिक कार्यक्रम गरेर आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गर्ने जनाएका छन् ।