Trending
संखुवासभाको सभापोखरी गाउँपालिकाले विभिन्न वडाको बजार क्षेत्रमा डेङ्गुको औषधि छर्किएको छ । सभापोखरी गाउँपालिका अध्यक्षको सचिबालयले अहिलेको लामखुट्टेको टोकाईबाट माहमारीको रुपमा फैलदै गएकाले डेङ्गु संक्रमणलाई न्यूनीकरण गर्ने उद्देश्यले डेङ्गु प्रभावित बजार क्षेत्रहरुलाई लक्षित गरी डेङ्गुको औषधि छर्किएको जनाएको छ ।
सभापोखरी नयाँ बस्ती,त्रिबेणि माबि आसपास,देवललाईन,चाम्लिङटार,आर्मी क्याम्प र २ नम्बर वडाका बगैंचा टोलमा औषधि र सभापोखरी ३ बाह्रबिसे बजार र सभापोखरी १ डके बजारमा केही दिन पछि औषधि छर्किने गाउँपालिकाले जनाएको छ ।
सभापोखरीका अन्य ठाँउहरुमा पनि असर र आवश्यकता अनुसार लामखुट्टेको औषधि छर्ने सचिवालयले जानकारी दिएको छ । साथै घर वरपर पानी जम्ने ठाँउहरुमा पानी जम्न नदिन ,घरायसी कार्यमा दैनिक प्रयोग हुने बाल्टिहरु जस्ता सामग्रीहरुमा पानी धेरै समय नराखौ अथवा छोपेर राख्न पनि पालिकाले आग्रह गरेको छ ।
घर वरपर गाडीका टायरहरु भए टायरहरुमा किट्नाशक औषधिको प्रयोग गर्न, बाताबरण सफा राखी आफू पनि स्वस्थ र अरुलाई पनि स्वस्थ बारे जानकारी गराउन पालिकाले भनेको छ ।
औषधि छर्किने कार्यमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाई , वडाध्यक्ष, अन्य जनप्रतिनिधी ,कर्मचारी,व्यापारी,प्रहरी ,युवा तथा स्थानीय बासिहरुको सहभागिता रहेको छ ।
संखुवासभामा पनि फाट्टफूट्ट डेगुंका बिरामी देखा पर्न थालेपछि डेंगु नियन्त्रण गर्न गाउँपालिकाले बेलैमा सचेतना अभियान थालेको हो ।