नेपालका अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारलाई अमेरिकी राष्ट्रपतिको कार्यालयले शुभकामना दिएको छ । कडा मेहनत र लगनले तपाईंलाई जुन मुकामसम्म पु¥याएको छ, यसले तपाईंलाई धेरै अगाडि लैजाने छ, तपाईंसँग गर्व गर्नलायक थुप्रै कुरा छन, राष्ट्रपति जो बाइडेनको हस्ताक्षरसहितको शुभकामना पत्रमा भनिएको छ ।
पत्रमा अहिलेसम्मको उपलब्धिका लागि सुनारलाई बधाइ दिँदै आगामी वर्ष थप उपलब्धिका लागि शुभकामना दिइएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालयले अनलाइनबाटै ‘प्रेसिडेन्सियल ग्रिटिङ रिक्वेस्ट’ गर्न पाउने व्यवस्था गरेको छ । अर्थात ह्वाइट हाउसको वेबसाइटमा गएर कुनै पनि व्यक्ति वा संस्थाले आफ्ना उपलब्धि, उत्सव, चाडपर्वका लागि राष्ट्रपतिबाट शुभकामना माग्न पाउँछ ।
त्यसमा आफ्नो दाबी वा उपलब्धि पुष्टि गर्न विभिन्न कागजातहरू पनि पेस गर्नुपर्ने हुन्छ । तर, ह्वाइट हाउसले बिनाअध्ययन यस्तो आवेदन स्वीकारचाहिँ गर्दैन ।
सुनारले गत जनवरीमा अप्लाइ गरेका थिए । पाँच महिनापछि ह्वाइट हाउसले उनलाई शुभकामना पत्र पठाएको हो ।
तीन दिनअघि ओहिओ राज्यस्थित आफू बस्ने घरमै राष्ट्रपति बाइडेनको हस्ताक्षर भएको शुभकामना पत्र आइपुगेको सुनारले बताए । अप्लाइ गर्दा आफू बस्ने घरको ठेगाना पनि दिनुपर्ने हुन्छ । आवेदन स्वीकृत भयो भने सोही ठेगानामा पत्र आउँछ, उनले भने ।
यसअघि उनलाई अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले १० फेब्ब्रुअरीमा सम्मान गरेको थियो । दिनेशको सम्मानमा सिटी अफ एक्रोनका मेयर डेनियल होरिगानले गत २१ अप्रिललाई ‘दिनेश सुनार डे’ घोषित गरेका थिए ।
यति मात्र होइन, गिनिज वर्ल्ड रेकर्ड्स डेमा संसारका उत्कृष्ट पाँच रेकर्ड होल्डरभित्र दिनेश पनि परेका थिए । यो मनोनयनमा दिनेशसहित उत्तर अमेरिकासहित चीन, जापान, बेलायत र मेक्सिकोका खेलाडी परेका थिए ।
‘मलाई समग्र उत्तर अमेरिकाको प्रतिनिधित्व हुने गरी मनोनीत गरिएको थियो, दिनेशले भने ।