Trending
नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत प्राधिकरणलाई निशुल्क हस्तान्तरण गरेको छ । करिब ३२ लाख रुपैयाँ मूल्य पर्ने उक्त ट्रान्सफर्मर (बैशाख १७ गते) हस्तान्तरणको घोषणा गरिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालको उपस्थितिमा ट्रान्सफर्मर हस्तान्तरण गरिएको निकले जानकारी दिएको छ । यस्ता खालका ट्रान्सफर्मर उत्पादन तथा जडान कार्यले स्वच्छ ऊर्जा आपूर्तिमा ठूलो योगदान पुर्याउने कार्यकारी निर्देशक घिसिङले बताए ।
जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको यो ट्रान्सफर्मर वातावरणमैत्री तथा स्वच्छ हरित ऊर्जा आपूर्तिमा योगदान पुर्याउने विशेषताको रहेको निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताए । निकले गत वर्ष नै यस्तो खालको ट्रान्सफर्मर उत्पादन गर्ने विषयमा प्राधिकरणसँग समझदारी गरको थियो । हाल यो ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्क केन्द्रीय कार्यालय मातहतमा जडान गरिसकिएको छ ।
प्राधिकरणमा जडान गरिदिएजस्तै ट्रान्सफर्मर उत्पादनको योजनालाई निकले प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ । यो ट्रान्सफर्मरले विद्युत आपूर्तिमा हुने उतारचढाव तथा भोल्टेजको सन्तुलन मिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने जोशीले बताए । ‘विद्युत हुँदा पनि भोल्टेजकै कारणले पटक–पटक आपूर्तिमा समस्या आउने वा आपूर्ति विच्छेद भइरहने समस्यालाई यो ट्रान्सफर्मरले सन्तुलन मिलाउँछ,’ उनले भने, ‘यसले वातावरणमैत्री तथा स्वच्छ हरित ऊर्जा आपूर्तिमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’