Trending
हिमाली तथा पहाडी क्षेत्रलाई प्राथमिकता दिइएकाले ती क्षेत्रमा पाठ्यपुस्तक पुग्ने क्रम जारी छ । कर्णालीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाइसकेका छन् । विगतमा पाठ्यपुस्तक अभाव हुँदा सबैभन्दा बढी गुनासो हिमाली क्षेत्रमा हुने गथ्र्याे । यस पटक भर्ना भएकै दिनमा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुगेका छन् ।
प्राथमिकतामा नपर्ने तथा ढुवानीलगायतका सहजताका कारण हिमाली र पहाडी क्षेत्रका विद्यार्थीले निकैपछि मात्र पाठ्यपुस्तक पाउने गरेका थिए । तराईका जिल्लामा पाठ्यपुस्तक पु-याउन सजिलो हुने भएकाले जनक शिक्षा सामग्री केन्द्रले सुरुदेखि नै हिमाली र पहाडी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरेको छ । मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ ।
केन्द्रले पुस्तक बिक्रेतालाई कमिसनबापत नौ प्रतिशत र ढुवानीका लागि पुस्तकको मूल्यको अधिकतम ६८ प्रतिशतसम्म रकम दिने गरेको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले ढुवानी गर्न सजिलो हुने भएका कारण तराईलाई दोस्रो प्राथमिकतामा राखिएको बताए । उनले भने, “हिमाली जिल्लामा हरेक वर्ष पाठ्यपुस्तक पुगेन भन्ने गुनासो हामीले सुन्दै आएका छौँ । यस पटक जसरी पनि समयमै पुर्याउनुपर्छ भनेर पहिलो प्राथमिकतामा राखेका हौँ । परिणामस्वरूप विद्यार्थीले सहजै पुस्तक पाउन सक्ने भएका छन् ।”
केन्द्रले कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको छ । जसअनुसार हालसम्म ५९ जिल्लाका लागि सोमबारसम्म ७४ लाख ७२ हजार ३८९ थान पाठ्यपुस्तक वितरण भइसकेको छ । केन्द्रले एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मेवारी पाएको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक झाले समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरको चासो र सहजीकरण मुख्य कारण भएको बताए । उनले भने, “समयमै कागज खरिद, कामदारको उचित प्रबन्ध गर्न सकेका कारण समयमै काम हुन सकेको हो ।”
केन्द्रले गत वर्ष कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक छापेको थियो । साथै त्यतिबेला कागज खरिद प्रक्रिया पनि लम्बिएका कारण पाठ्यपुस्तक छपाइमा समस्या हुने गरेको थियो । जसको असर विद्यार्थीको पढाइमा पुग्थ्यो । तर यस पटक कागज खरिदमा सरकारले सहजीकरण गरिदिएको र जनक शिक्षालाई पाठ्यपुस्तक छपाइको जिम्मा पनि कक्षा ६ देखि १० सम्मका लागि मात्रै दिएकाले सहज भएको केन्द्रले जनाएको छ ।
“आउने दिनमा पनि यस्तै अवस्था रह्यो भने अहिले निजी मुद्रण संस्थालाई छाप्न दिएको पुस्तक पनि हामी नै छाप्छौँ । जसबाट केन्द्रको आम्दानी पनि वृद्धि हुनेछ,” उनले भने। उनले यस पटक पुस्तक छाप्ने कागज खरिदका लागि केन्द्रले विभिन्न बैङ्कबाट ८५ करोड रुपियाँ ऋण लिएको र उक्त ऋणमध्ये ४० करोडभन्दा बढी पाठ्यपुस्तक छापेर आएको आम्दानीबाट तिरिसकेको जानकारी दिए ।
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी मुद्रण संस्थाले पनि सम्पूर्ण पुस्तक छापेर वितरण गरिसकिएको जनाएको छ । यी पाठ्यपुस्तक छपाइका लागि १३ वटा मुद्रण संस्था छानिएका छन् । यी संस्थाको छनोट पाठ्यक्रम विकास केन्द्रले गरेको हो । केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले निजी संस्थालाई एक करोड १८ लाख थान पुस्तक छाप्ने जिम्मेवारी दिइएको छ ।