Trending
संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको ४ सय ५४ मेगावाट क्षमताको किमाथांका- अरुणको वातावरणीय प्रभाव मूल्यांकन भएको छ।
मंगलबार जिल्ला प्रशासन कार्यालय खाँदबारीमा प्रभावित क्षेत्र, सरोकारवाला निकाय र स्थानीयबीच वातावरणीय प्रभाव मूल्यांकनबारे छलफल गरिएको हो।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययनले सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामाजिक एवं सांस्कृतिक तथा आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्छ भन्नेबारेमा जानकारी गराइएको छ। प्रभावित क्षेत्रका अति विपन्न परिवारलाई निःशुल्क सेयर दिन संखुवासभा प्रदेशसभा (२) का प्रदेश सदस्य विदुर सुब्बा लिङ्थेपले माग गरे।
सबै स्थानीय सेयर खरिद गर्न सक्ने अवस्था नभएका कारण निःशुल्क सेयर दिनुपर्ने प्रदेशसभा सदस्य लिङ्थेपको भनाइ छ। उनले प्रभावित क्षेत्रका स्थानीयलाई रोजगारीको समेत ग्यारेन्टी हुनुपर्ने धारणा राखेका थिए।
सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले सो आयोजना निर्माण गर्न लागेको छ। अरुण नदीमा निर्माण हुने आयोजनाबाट प्रभावित क्षेत्रको वातावरणमा पर्ने प्रभावबारे जानकारी गराइएको थियो। किमाथांका अरुणबाट २ सय ९ घरपरिवारको ३ सय ६५ कित्ता प्रभावित हुने बताइएको छ।
त्यसैगरी १ सय ८८ परिवार जनजातिको घर विस्थापित हुने विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रबन्धक सूर्यप्रसाद रिजालले जानकारी दिए। किमाथांका-अरुण भोटखोला गाउँपालिका–२ भएर बग्ने अरुणमा आयोजनाका लागि ७० मिटर अग्लो बाँध निर्माण गरिनेछ। सो बाँधका कारण अरुणमा ०.३३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १०३ लाख घन मिटर क्षमताको जलाशय बन्नेछ।
पानीको बहाव करिब १४३ घनमिटरप्रति सेकेण्ड र करिब ३८० मिटरको कूल हेड प्रयोग गरी वार्षिक करिब २ हजार ४९८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्ने गरी आयोजनाको डिजाइन गरिएको विद्युत उत्पादक कम्पनीका प्रबन्धक रिजालले बताए।
आयोजनाका संरचनास्थलमा पुग्नका लागि करिब २२ किलोमिटर लामो पहुँचमार्ग निर्माण तथा विद्युत गृहबाट हाइटार सबस्टेशनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिने छ। उक्त आयोजना निर्माणको लागत करिब ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।