ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
ढोरपाटन–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले नागरिकको सहज स्वास्थ्य सेवाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको बताए। एक दिने स्वास्थ्य शिविरमा दीर्घरोगीदेखि विभिन्न किसिमका रोगको उपचार गरिएको थियो । उनले पहिलो पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सबै प्रकारको रोगीलाई लक्षित गरी सेवा उपलब्ध गराइएको बताए ।
शिविरमा मुटु रोग, तन्द रोग, स्त्री रोग लगायतका रोगको परीक्षण र उपचार गरिएको अध्यक्ष घर्ती मगरको भनाइ छ । ‘यसपटक वडा कार्यालयको अगुवाइमा विदेशी डाक्टरसहितको टोलीले सेवा प्रदान भएको छ’, उनले भने। शिविरमा डाक्टर अमृत पोखरेल, डाक्टर सरमशिखा भट्टराईलगायत, अमेरिका र बेलायतबाट आएका डाक्टरको टोलीले सेवा दिएको थियो ।
शिविरमा स्थानीय चन्द्रसिंह गुमाइँले पनि दाँतको उपचार गराए । दाँत किराले खाएर समस्या भएको थियो, हालसम्म घरेलु उपचार गराउँदै आएको थिए’, उनले भने, हिजो ढोरपाटनमै विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउँदा खुसी छु ।
गुमाइँ जस्तै स्थानीय प्रियासी पुन मगरलेपपनि शिविरबाट सेवा लिइन् । लामो समयदेखि ढाड दुख्ने समस्याबाट ग्रसित उनले शिविरमा स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्राप्त गरे । यस्तो विकट ठाउँमा वडा कार्यालयले स्वास्थ्य शिविर राख्यो । हामी जस्ता दुर्गमका मान्छेले राम्रो सेवा पायौँ। यस्तो सेवा बेला–बेलामा ल्याउन सके।
यहाँका धेरै मान्छेको अकालमा ज्यान जाने थिएन पुन मगरले भने, यहाँ त अहिले पनि अस्पतालमा गएर उपचार गराउने चलन निकै कम छ ।