नयाँ शैक्षिकसत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गएको चैत २४ देखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
पाठ्यपुस्तक बिक्री–वितरण र छपाइका विषयमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेका थिए ।
अनुगमनपश्चात् जनक शिक्षाका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको बताए । उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जिकिर गरे ।
जनक शिक्षाले कक्षा–६ देखि १० सम्मका एक करोड ५० लाख पाठ्यपुस्तक छपाइको काम सम्पन्न गरी बिक्री–वितरण गरिरहेको उनले जानकारी दिए । चैत २४ देखि देशभर पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुर्याई विद्यार्थीलाई वितरण गरिएको उनले बताए ।
बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने उनको भनाइ छ ।