भरतपुर महानगरपालिका–२९ को कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् । चौकीडाँडा आधारभूत विद्यालयमा कक्षा आठको अध्ययन सकेपछि यहाँका अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन् । भौगोलिक विकटताका कारण यस क्षेत्रमा माध्यमित तहको पठनपाठन गर्ने विद्यालय नहुँदा कक्षा आठको अध्ययन पछि पढाइ छाड्ने गरेका हुन् ।

कमलपुरकी सीता परियारका चारजना छोराछोरी छन् । उनीहरुमध्ये दुईजना भरतपुरमा भाडामा बसेर पढ्छन् भने एकजना चौकीडाँडा आधारभूत विद्यालयमा र एकजना घर नजिकैको विद्यालयमा पढ्छन् । कमलपुरबाट चौकीडाँडा विद्यालय पुग्न करिब तीन घण्टा हिँड्नु पर्छ । हिँडेर आउँदा थाक्ने भएकाले पढाइमा ध्यान दिन नसक्ने परियारको भनाइ छ ।

“बाहिर कोठा लिएर राखौँ खर्चले धान्न सकिँदैन नजिकै माध्यमिक विद्यालय छैन”, उहाँले भन्नुभयो, “विद्यालय नजिक भएको यही चौकीडाँडा हो । यसमा पनि आठ कक्षासम्म मात्र पढाइ हुन्छ ।” यहाँ पढिसकेपछि छोराछोरी बजार गएर पढ्न खोजे पनि अभिभावकले पढाउन नसक्ने उहाँको भनाइ छ ।

यस्तै, गुनासो सुनाउनु हुन्छ धनमाया सुनार पनि । उहाँका दुई छोरी अहिले कक्षा छ र नौमा पढ्दैछन् । उहाँले भन्नुभयो, “कोठा लिएर पढाउने क्षमता छैन ।” चार हजार कोठा भाडा तिरेर रासन, पानी भरेर पढाउन सक्ने क्षमता नभएको भन्दै उहाँले चौकीडाडाँमा नै माध्यमिक तहको विद्यालय खोल्न आग्रह गर्नुभयो । यही विद्यालयमा भए जेनतेन पढ्न सक्ने भन्दै उहाँले भन्नुभयो, “कोठाभाडा तिरेर माध्यमिक तहको पढाइ गराउन सकिन्न । यहाँ मावि नभएपछि अब छोराछोरीको पढाइ सकियो ।” उहाँले छोरी कक्षा आठ पास गरेर नौमा पुगेकी भए पनि नजिक विद्यालय नभएर पढ्न नपाएको बताउनुभयो ।

चौकीडाँडा आधारभूत विद्यालयकी निमित्त प्रधानाध्यापक अञ्जीला तिवारी माध्यमिक तहको पढाइ यहाँ नहुँदा आठ कक्षा पास भए पछि पढाइ छोड्ने गरेको स्वीकार गर्नुहुन्छ । भौगोलिक विकटताको हिसाबले बालबालिकालाई विद्यालय आउन समस्या भएकाले धेरैले आठ कक्षापछि पढाइ छोड्ने गरेको उहाँले बताउनुभयो । प्रत्येक वर्ष कक्षा आठ उत्तीर्ण गरेका २५ देखि ३० प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् । अभिभावकले सहरमा राखेर पढाउन सक्ने अवस्था नभएकाले विद्यालय छाड्नेको सङ्ख्या बढेको उहाँको भनाइ छ । “कक्षा आठ उत्तीर्ण भएपछि १५ किलोमिटर टाढा गएर पढ्न र पढाउन समस्या हुने भएकाले विद्यालय छाड्ने गरेका छन्”, तिवारीले भन्नुभयो ।

गत शैक्षिक सत्रमा १८ जना विद्यार्थीले कक्षा आठको परीक्षा दिएर उत्तीर्ण भएका थिए । तीमध्ये छ जनाले विद्यालय छाडेका छन् । अहिले यस विद्यालयमा ८५ विद्यार्थी अध्ययनरत छन् । यो विद्यालय विसं २०२४ सालमा स्थापना भएको विद्यालय थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौगोलिक विकटताका कारण विद्यार्थीले विद्यालयस्तरको पढाइसमेत पूरा गर्न नसकेपछि यसको स्तरोन्नति गर्न महानगर लागिपरेको बताउनुभयो । विद्यालयमा अहिले कक्षा आठसम्म पढाइ हुने गरेको बताउँदै उहाँले आगामी शैक्षिक सत्रबाट कक्षा नौको सम्बन्धन दिने तयारी गरिएको जानकारी दिनुभयो ।

सो क्षेत्रको स्थालगत अध्ययनपछि प्रमुख दाहालले चौकीडाँडा आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा अघि बढाइने भन्दै छोराछोरीको पढाइका लागि चिन्ता लिन नपर्ने गरी महानगरले काम गर्ने बताउनुभयो । यस क्षेत्रका बालबालिका शिक्षा लिनबाट वञ्चित हुन नपर्ने उहाँको भनाइ थियो ।

 

शनिबार, २५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !