Trending
युरोपको पोर्चुगलमा राहदानी सेवा दिने व्यवस्था गरेपछि युरोप पुगेका नेपाली अब अप्ठ्यारोमा नपर्ने भएका छन् । युरोपेली मुलुकसंगको नेपाल सरकारको समन्वयमा यस्तो व्यवस्था गरीएको हो ।
बिभिन्न मुलुक हुदै कामको सिलसिलामा युरोप पुगेका नेपालीमा समस्या भएपछि नेपाल सरकारको समन्वयमा काम थालिएको हो। युरोपका बिभिन्न देशमा रहेका एनआरएनएका अध्यक्ष र प्रतिनिधिसंग सम्र्पक गरी पोर्चुगलमा व्यवस्थापन गरीएको हो । यसलाई त्यहाको सरकारसंग समन्वय गरी चारबर्ष बढी युरोपेली देशमा काम गरी रहेका व्यक्तिहरुलाई तीन तीन बर्षमा यस्तो व्यवस्थापन गरीने छ ।
दुबईबाट सजिलो भएकाले अधिकांश नेपाली त्यतैबाट युरोप पुग्ने गरेका छन् । नेपाल सरकारले युरोपेली मुलुक र दुबई लगायतका मुलुकसंग कामको लागि समन्वय गरी रहेको छ र त्यहा पुग्ने नेपालीलाई सहजीकरणको व्यवस्थापन गर्ने नीति अनुसार काम अगाडी बढाएको हो ।
यसैबीच युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल पुगेर काम सुरु गरेको छ ।
विद्युतीय राहदानीका लागि दरखास्त संकलन गर्न विभागको टोली पोर्चुगलको राजधानी लिस्बन आइपुगेको गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राजकुमार थापाले जनाउनुभयो । विभागकी शाखा अधिकृत रञ्जिता दाहालको नेतृत्वमा यसोदा अधिकारी सहितको टोलीलाई गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, लेखा संयोजक विशाल आचार्य, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेल, उपाध्यक्ष सरिता शर्मा लगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
यसैबीच टोलीअन्तर्गतको नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले राहदानी सेवा दिन सुरु गरेको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो । राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएकाको दरखास्त संकलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिस, फ्रान्सका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।
टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने छ । झण्डै एक महिनासम्म सञ्चालन हुने राहदानी सेवाबाट पाँच हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको छ ।