सोलुखुम्बुस्थित सोलुखोला जलविद्युत् आयोजनाबाट उत्पादित ९.८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।
सोमबारदेखि आयोजनाबाट उत्पादित ९.८ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिन लागिएको हो । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सोलुखुम्बुमा निर्माण गरेको आयोजनाको निर्माण सम्पन्न भएको छ । आयोजनाको परीक्षण सकिएको र नेपाल विद्युत् प्राधिकरणको टोली परीक्षणका लागि आइतबार आयोजनास्थलतर्फ जाने कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीले जानकारी दिनुभयो ।
प्राधिकरणको टोलीले परीक्षण गरेपछि सोमबार बिजुली राष्ट्रिय प्रसारणमा जोडिने उहाँको भनाई छ । आयोजनामा तीनवटा युनिट छन् । तत्काललाई एउटा युनिटबाट ७ मेगावाट हाराहारीमा मात्र बिजुली उत्पादन भइरहेको कार्कीले जानकारी दिनुभयो । आयोजनादेखि सोलु करिडोरसम्म १२ किमिको १३२ केभीको प्रसारण लाइनसमेत बनिसकेको छ ।
आयोजनामा २४ सय मिटर सुरुङमार्ग बनाइएको छ । आयोजना निर्माणमा ३ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको बताइएको छ ।