file photo

हिउँदमा पानी नपर्दा चिया उत्पादन ५० प्रतिशतले घट्ने देखिएको छ। नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार माघ–फागुनमा पानी नपरेकै कारण चैत-वैशाख (मार्च-अप्रिल)मा हुने चियाको उत्पादनमा ५० प्रतिशतले ह्रास आउनेछ।

यसले वर्षभरिको उत्पादनमा १५ देखि २० प्रतिशतले असर पर्नेछ। नेपालमा सामान्यतया वार्षिक २ करोड २० लाख किलो सीटीसी चिया र ७० लाख किलो अर्थोडक्स चिया उत्पादन हुँदै आएको छ।

अध्यक्ष मित्तलले भन्नुभयो, ‘अप्रिल सुरु भएपछि त चियाको बोट नै बुढो देखिन थाल्छ। पत्ती र मुना नै फुस्रा हुन थाल्छन्। चैतको ५ र ६ गते पानी परेको छ। यो पानीले केही मद्दत गर्दैन। फागुनभित्र परिसक्नु पर्थ्यो।’

मित्तलले यस वर्ष पानी नपरेका कारण चैत-वैशाखको चिया ‘जुसी’ अर्थात् रसिलो नहुने बताउनुभयो। गुणस्तर खस्किएकाले यसको सिधा असर चियाको मूल्यमा पर्नेछ। उहाँले तराई क्षेत्रका चिया–कृषकले पम्पसेटका माध्यमबाट चियाबगानमा सिँचाइ गरेको जानकारी दिनुभयो।

‘हो, हामीले तराईका बगानमा पम्पसेट चलाएर भए पनि अलिअलि सिँचाइ गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘यति नगरेको भए सबै बोट मर्ने थिए। पहाडका बोट मरिहाल्दैनन्। तर, तराई क्षेत्रमा माघ-फागुनमा पानी परेन भने बगानलाई सिँचाइ अनिवार्य हुन्छ।’

उहाँले नेपाल विद्युत् प्राधिकरणले चियाबगानलाई दिँदै आएको सहुलियत बन्द गर्दा कृषकहरू मारमा परेको गुनासो गर्नुभयो। मित्तलका अनुसार चिया किसानहरु पम्पसेट चलाउँदा प्रति युनिट ४ रुपैयाँ ७५ पैसाका दरले विद्युत् महसुल बुझाउँदै थिए।

तर प्राधिकरणले २०७७ साउनदेखि चियाबगानलाई पनि अन्य उद्योगसरह नै राखेर महसुल प्रति युनिट ८ रुपैयाँ ५५ पैसा बनाएको छ। यसले गर्दा अधिकांश किसानले थोरै मात्र सिँचाइ गरेका छन्। प्राधिकरणले विद्युत् महसुलमा एक्कासि दोब्बर वृद्धि गरेपछि किसानले अत्यन्त थोरै मात्र सिँचाइ गरेका हुन्।

‘अधिकांश कृषकले धेरै उत्पादन लिन होइन, चियाका बोट नमरून् भन्ने उद्देश्य राखेर ठिक्क र चाहिनेजति मात्र सिँचाइ गरेका छन्,’ मित्तलले भन्नुभयो, ‘प्राधिकरणले वृद्धि गरेको महसुलका कारणले धेरै किसानले पर्याप्त सिँचाइ गरेनन्।’

गोर्खा टी स्टेट इलाम र हिमालय टी प्रोड्युसर कोअपरेसन लिमिटेड इलामका अध्यक्ष उदय चापागाईंका अनुसार मार्च–अप्रिलमा टिपिने र उत्पादन गरिने चियालाई फर्स्ट फ्लसको भन्ने गरिएको छ।

‘हिउँदमा पानी परेन, जबकि टन्न माघे झरी चाहिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘तर, ठ्याम्मै परेन। गत वर्ष हिउँदमा राम्रो झरी परेको थियो, त्यसैले उत्पादन र त्यसको गुणस्तर पनि राम्रो थियो।’ गत वर्ष फर्स्ट फ्लसको चियाको उत्पादन राम्रो भएको र त्यसले मूल्य पनि उचित पाएको उल्लेख गर्दै उनले यो वर्ष त्यस्तो अवस्था नदोहोरिने दाबी गर्नुभयो।

सरकारले चियाकृषकलाई समयमा पर्याप्त प्रांगारिक मल पनि उपलब्ध गराउन नसकेको आरोप उहाँले लगाउनुभयो। ‘रासायनिक मल अलिअलि पाइयो तर हामीलाई चाहिने मुख्य प्रांगारिक मलको अत्तोपत्तो नै भएन। एकातिर हिउँदे झरी नपर्नु अनि अर्कातिर प्रांगारिक मल नपाइनु। अनि कसरी गर्न सकिन्छ गुणस्तरीय उत्पादन ?

मई १५ देखि जुन १५ सम्मको चियालाई सेकेन्ड फ्लस र जुन १५ देखि जुलाई १५ सम्मको चियालाई थर्ड फ्लसको भन्ने गरिएको उद्यमी चापागाईंले बताउनुभयो। नेपालका १४ जिल्लाका २० हजार कृषक चियाखेतीमा आबद्ध छन्। पहाड र तराई क्षेत्र गरी कुल २८ हजार हेक्टर क्षेत्रमा चियाखेती भइरहेको छ।

आइतवार, १२ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे