Trending
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सांस्कृतिक महत्व बोकेको थारु गाउँ सिंहपुरमा घरबास सञ्चालन गरीने भएको छ । सिंहपुर सामुदायिक वनको सहयोगमा घरबास सञ्चालन गर्न लागिएको हो ।
थारु घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारु संस्कृतिबारे जानकारी गराउन परम्परागत नृत्यकोलागि नृत्य टोली गठन गरिएको छ । नृत्य टोलीलाई प्रशिक्षण र तालिको व्यवस्थापन गरीएको सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले जानकारी दिनुभयो ।
पाहुनाको इच्छा अनुसार परम्परागत परिकार बनाउने तालिम दिने काम गरेका उहाँको भनाई छ । पाहुनालाई परम्परागत वेषभूषामा स्वागत सत्कार गर्नेबारे जानकारी दिनकोलागि समेत प्रशिक्षण दिईएको छ । दुई वर्षअघि नै घरबास सञ्चालन गर्ने योजना भए पनि बिभिन्न कारणले ढीला भएको उहाँको भनाई थियो । घरबास सञ्चालनका लागि दर्ता गर्ने कार्य अगाडि बढी सकेको छ ।
पहिलो चरणमा १० घरमा घरबास सञ्चालन गर्ने योजना रहेको छ । गहुँबाली भित्र्याउने काम गरिसकेपछि घरबास सञ्चालनका लागि सामुदायिक वनको सहयोगमा परम्परागत थारु घर निर्माण गरिने छ । सामुदायिक वनबाट जति सकिन्छ सहयोग गर्ने उन्को भनाई छ । अपुग सहयोगका लागि दातृ निकायसंग सहकार्य गर्ने उहाँको भनाई छ । नगरपालिकाले दुई लाख दिने अश्वासन दिएको छ । घरबासमा आउने पाहुनालाई परम्परागत फेरिया, घोंगी, मुसाको चटनी, फुलौरी, अन्तीलगायतका परिकार दिइने वडाध्यक्ष बाबुराम चौधरीको भनाई छ ।
परम्परागत शैलीमै प्रस्तुत गरिने झुम्रा, लठवा, सखिया, राना थारु समुदायको थरिया नृत्य देखाउन नृत्य टोलीलाई प्रशिक्षित गर्ने काम अगाडि बढाईने छ । पूर्ववडाध्यक्ष नत्थुराम चौधरीले पाहुनालाई सामुदायिक वनको जैविक विविधताबारे जानकारी दिन घुमाउने प्रबन्ध मिलाउने योजना बनाइएको बताउनुभयो ।
पाहुनालाई सामुदायिक वनको दृश्यावलोकन गराउने, वनभोज स्थलमा पु¥याएर जीवजन्तु, चराचुरुङ्गी देखाउने र त्यसबारे जानकारी दिने कार्य गरिने उहाँको भनाई छ । सिंहपुर गाउँलाई पुरानो थारु गाउँका रुपमा लिइने गरिन्छ । परम्परागत संस्कृति जगेर्ना गर्ने कार्यमा यस क्षेत्रका बुढापाकादेखि युवाले योगदान दिँदै आएका छन् । संरक्षणका हिसाबले सिंहपुर सामुदायिक वनलाई यस क्षेत्रकै नमुना वनका रुपमा लिइने गरिन्छ । सामुदायिक वनमा तीन सय ६५ घरधुरी छन् ।